झोलुङ्गे पुल भत्किएपछि दोधारा चाँदनीका होटल व्यवसाय संकटमा
झोलुङ्गे पुल भत्किएपछि दोधारा चाँदनीका होटल व्यवसाय संकटमा
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

कञ्चनपुर ।

महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि त्यस क्षेत्रको पर्यटन र होटल व्यवसाय प्रभावित बनेको छ । पुलमा आवागमन बन्द गरिएसँगै पर्यटकको संख्या घट्दा पुल आसपासका व्यवसायी आर्थिक संकटमा परेका छन् ।

गत असोज दोस्रो साता आएको बाढीले दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने पुलको एउटा पिल्लर भत्काएको थियो । त्यसपछि सुरक्षाका कारण प्रशासनले पुलको दुवैतर्फ आवागमन बन्द गरेको छ ।

पुल बन्द भएपछि होटल तथा अन्य व्यवसायको कारोबार ठप्पजस्तै भएको स्थानीय होटल व्यवसायी मोहनबहादुर सिंहले बताए । उनका अनुसार दसैँ–तिहारको समयमा पर्यटकको चहलपहल बढी हुने र यही अवधिको आम्दानीले वर्षभरि व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने गरेको थियो ।

पहिले दैनिक ८ देखि १० हजार रुपैयाँसम्म आम्दानी हुने गरेकोमा अहिले व्यापार लगभग शून्यमा झरेको सिंहको भनाइ छ । पुल अवलोकनका लागि केही पर्यटक चार लेनको पुल हुँदै आउने गरे पनि झोलुङ्गे पुल बन्द हुँदा अपेक्षित चहलपहल हुन सकेको छैन ।

प्राविधिक टोलीले पुल पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ खर्च लाग्ने र निर्माण सम्पन्न गर्न एक वर्ष समय आवश्यक पर्ने अनुमानसहित प्रतिवेदन बुझाएको छ ।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराका अनुसार विगतका वर्षमा दसैँ–तिहारका बेला दैनिक दुईदेखि तीन हजारसम्म पर्यटक झोलुङ्गे पुल हेर्न आउने गर्थे । हिउँदमा विद्यालय तथा विभिन्न समूहका शैक्षिक भ्रमणले समेत स्थानीय व्यापारलाई चलायमान बनाउने गरेको थियो । पुल बन्द भएपछि त्यसको असर होटल, पसल र पर्यटनसँग जोडिएका अन्य व्यवसायमा परेको उनले बताए ।

बोहराले पुल पुनर्निर्माणका लागि तत्काल काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । पुलमा क्षति पुगेपछि विभिन्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताले स्थलगत अवलोकन गरे पनि निर्माण प्रक्रिया अघि बढ्न नसकेको उनको गुनासो छ । पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पनि पुल पुनर्निर्माणमा ढिलाइ हुँदा जिल्लाको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको बताए । उनका अनुसार झोलुङ्गे पुल आवागमनको माध्यम मात्र नभई कञ्चनपुरको प्रमुख पर्यटकीय आकर्षणसमेत हो ।

पर्यटकको आवागमन बढाउन र स्थानीय व्यवसायलाई पुनः चलायमान बनाउन पुल पुनर्निर्माणको काम शीघ्र सुरु गर्नुपर्ने व्यवसायी तथा स्थानीयको माग छ ।

साताकाे चर्चित
सम्बन्धित