आज भाइटीका मनाइँदै, बिहान ११:०७ बजे उत्तम साइत
आज भाइटीका मनाइँदै, बिहान ११:०७ बजे उत्तम साइत
    • बेल संचार

    • २६ कार्तिक २०८३, बुधबार

काठमाडौँ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन आज देशभर भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै निधारमा सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने तथा उपहार र दक्षिणा दिएर आपसी प्रेम र सम्मान साटासाट गर्ने चलन छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउनका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत रहेको छ। यद्यपि सर्वसाधारणले दिनभर नै टीका लगाउन सक्ने समितिले स्पष्ट पारेको छ। समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार राज्य सञ्चालनको जिम्मेवारीमा रहेका व्यक्तिहरूले भने शास्त्रीय मान्यताअनुसार शुभ साइतमै टीका लगाउनुपर्ने हुन्छ।

टीका लगाउँदा पूर्व र पश्चिम दिशा

समितिले यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने जनाएको छ। यसरी बस्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय परम्परा रहेको छ।

भाइटीकाका दिन दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवीका रूपमा मानिने मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामको आराधना गरिन्छ। यससँगै यमराज र उनकी बहिनी यमुनाको पनि पूजा गर्ने धार्मिक चलन छ।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले घेरेर मखमली, सयपत्री तथा गोदावरीका माला लगाइदिने गर्छन्। त्यसपछि ओखर, कटुस, मरमसला, सेलरोटीलगायतका परिकार र सामग्री दिने परम्परा पनि रहेको छ।

दाजुभाइ तथा दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

दाजुभाइ वा दिदीबहिनी नभएका व्यक्तिहरूले पनि भाइटीका मनाउन सकून् भन्ने उद्देश्यले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला गरिएको छ।

वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने यस मन्दिरमा पुगेर पूजा, दर्शन तथा टीका ग्रहण गर्ने परम्परा छ। काठमाडौँ महानगरपालिकाले भक्तजनको सहजताका लागि आवश्यक व्यवस्थापन पूरा गरेको जनाएको छ।

त्यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले पूजा तथा दर्शन गरी टीका लगाउने पुरानो चलन रहेको संस्कृतिविद् डा. गोविन्द टण्डनले बताएका छन्।

नेवार समुदायमा किजापूजा

भाइटीकाकै दिन नेवार समुदायले किजापूजा मनाउने परम्परा छ। परिवारको कुल परम्परा र धार्मिक विधिअनुसार कसैले भाइटीकाकै दिन त कसैले अघिल्लो दिन किजापूजा गर्ने गर्छन्।

भक्तपुरका तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार त्यहाँका अधिकांश नेवार समुदायले यस वर्ष अघिल्लो दिन नै किजापूजा सम्पन्न गरेका छन्।

भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, प्रेम र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ।

साताकाे चर्चित
सम्बन्धित