काठमार्डौ,
मुगुमा तैनाथ नेपाली सेनाको हनुमानध्वज गुल्मले दुई छुट्टाछुट्टै घटनामा रारा क्षेत्रको जङ्गलमा हराएका १२ पर्यटकको सकुशल उद्धार गर्नुका साथै विकट हिमाली क्षेत्रबाट दुई जनाको शव जिल्ला अस्पतालसम्म ल्याएको छ।
हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार उहाँको नेतृत्वमा रहेको गुल्मबाट परिचालित टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दासँग सहकार्य गर्दै मुगु र हुम्लाको सीमावर्ती मिमि लेक क्षेत्रबाट दुई जनाको शव ल्याएको हो। अति विकट हिमाली क्षेत्रमा खटिएको संयुक्त टोलीले असोज २२ गते राति ९ बजेर ३५ मिनेटमा शव जिल्ला अस्पताल मुगु पुर्याएको श्रेष्ठले जानकारी दिनुभयो।
त्यस्तै, रारा भ्रमणका क्रममा छायाँनाथ रारा नगरपालिका–८ स्थित चुच्चेमारा जङ्गलमा बाटो बिराएका १२ जना आन्तरिक पर्यटकलाई पनि गुल्मको टोलीले सकुशल उद्धार गरेको छ। उनीहरू जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीबाडाबाट रारा घुम्न आएका थिए।
गुल्मपति श्रेष्ठका अनुसार पर्यटकहरू हराएको सूचना प्राप्त हुनासाथ खोजी तथा उद्धार टोली परिचालन गरिएको थियो। रातको समय र कठिन भूगोलका बीच खोजीमा जुटेको टोलीले राति करिब १० बजे सबै पर्यटकलाई सकुशल फेला पारेको थियो।
उद्धारपछि पर्यटकहरूलाई सल्लेरीस्थित सुरक्षित होटलमा पुर्याइएको श्रेष्ठले बताउनुभयो। समयमै सूचना प्राप्त हुनु र उद्धार टोली परिचालन हुनुले उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन सम्भव भएको हो।
यो घटनाले रारा क्षेत्रका पदमार्गमा पर्यटकलाई आवश्यक सूचना र मार्गनिर्देशनको विषयलाई समेत अगाडि ल्याएको छ। स्थानीय बासिन्दाले मुख्य पदमार्गमा पर्याप्त दिशासूचक सङ्केत, सूचना बोर्ड र तालिमप्राप्त पथप्रदर्शकको व्यवस्था आवश्यक रहेको बताएका छन्।
पहिलोपटक रारा पुग्ने पर्यटकलाई बाटो पहिचान गर्न सहज हुने व्यवस्था मिलाउन तथा पर्यटक सुरक्षामा ध्यान दिन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।