देशका समस्या बेवास्ता गर्दै सरकार आईजीपी परिवर्तनमा केन्द्रित भएको आङदेम्बेको टिप्पणी
देशका समस्या बेवास्ता गर्दै सरकार आईजीपी परिवर्तनमा केन्द्रित भएको आङदेम्बेको टिप्पणी
    • बेल संचार

    • २० कार्तिक २०८३, बिहीबार

काठमाडौँ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश विभिन्न समस्याबाट गुज्रिरहेको अवस्थामा सरकारको ध्यान प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनमा मात्र केन्द्रित भएको भन्दै आलोचना गरेका छन्।

बिहीबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले कार्यकाल अझै १७ महिना बाँकी रहेका आईजीपीलाई हटाउनुपर्ने सरकारको कारणबारे प्रश्न उठाएका हुन्।

भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट नागरिक प्रभावित भएको, विस्थापित सुकुम्बासीको अवस्था कठिन बनेको र महँगीले सर्वसाधारणको जनजीवन प्रभावित भइरहेको उल्लेख गर्दै आङदेम्बेले सरकारका प्राथमिकता गलत दिशातर्फ गएको टिप्पणी गरेका छन्। “के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो ?” उनले प्रश्न गरेका छन्।

आईजीपीलाई हटाउन खोज्नुको आधार र प्रमाण सार्वजनिक गर्न पनि उनले सरकारसँग माग गरेका छन्। यस क्रममा उनले सरकारका प्रवक्ता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताका अभिव्यक्तिबीच देखिएको भिन्नताप्रति ध्यानाकर्षण गराएका छन्।

सरकारका प्रवक्ताले पार्टीको निर्देशनअनुसार आईजीपी हटाइएको बताएको तर रास्वपाका प्रवक्ताले भने पार्टीले त्यस्तो निर्देशन नदिएको अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले सरकार कसको निर्देशनमा सञ्चालन भइरहेको छ भन्ने प्रश्न गरेका छन्।

आङदेम्बेले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हुन सक्ने विषय पनि उठाएका छन्। अनुसन्धानका लागि प्रहरीले बरामद गरेको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको प्रसङ्ग उल्लेख गर्दै उनले उक्त मोबाइल त्यहाँ पुग्नुको कारण र त्यसमा रहेका विवरण मेटाउन खोजिएको हो कि होइन भन्नेबारे प्रश्न गरेका छन्।

जनताले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र दैनिक जीवन सहज बनाउने अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको स्मरण गराउँदै उनले सत्ता र शक्तिको दुरुपयोग गरी प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्न खोजिएको आरोपसमेत लगाएका छन्।

889178352_1677794190691368_6318767410284437109_n

साताकाे चर्चित
सम्बन्धित