भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
    • बेल संचार

    • २६ कार्तिक २०८३, बुधबार

काठमाडौँ ।

भाइटीकाका दिन सार्वजनिक यातायातको उपलब्धता कम हुने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ।

सर्वसाधारणलाई चाडपर्वका बेला आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले बुधबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म तीन फरक रुटमा बस सेवा उपलब्ध गराइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालन हुने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खुलगायत क्षेत्रलाई समेट्नेछ।

त्यसैगरी प्रधान कार्यालयबाटै छुट्ने दोस्रो बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानमा यात्रुलाई सेवा दिनेछ।

तेस्रो बस भने स्वयम्भूस्थित प्रधान कार्यालयदेखि भक्तपुरसम्म सञ्चालन हुनेछ। उक्त बस स्वयम्भू, कलङ्की, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलङ्की र स्वयम्भू फर्कने रुटमा चल्नेछ।

भाइटीकाका दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले आवतजावतमा समस्या हुन सक्ने यात्रुलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन गरिएको हो। यसबाट टीका लगाउन आफन्तको घर जाने तथा अन्य कामले उपत्यकामा यात्रा गर्ने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित