काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्। उनले बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा बहिनी शारदा पण्डितको हातबाट भाइटीका लगाएका हुन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले परम्परागत विधिअनुसार टीका ग्रहण गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
भाइटीकाका क्रममा बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायत फलफूल तथा विभिन्न उपहार प्रदान गरेकी थिइन्। त्यसपछि राष्ट्रपति पौडेलले पनि बहिनीलाई टीका लगाइदिँदै उपहार र दक्षिणा प्रदान गरेका थिए।
यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको कामना गर्दै टीका लगाउने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिने चलन रहेको छ।