काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् ।
यमपञ्चकको अन्तिम दिन बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीसहित सबै नेपालीको सुखद जीवनको कामना गरेका हुन् ।
उनले भाइटीकासँग जोडिएको पौराणिक कथालाई स्मरण गर्दै यमराज र उनकी बहिनी यमुनाबीचको स्नेहपूर्ण सम्बन्धको चर्चा गरेका छन् । धार्मिक विश्वासअनुसार यमुनाको प्रेम, निष्ठा र सत्कारबाट प्रसन्न भएका यमराजले भाइटीकाका दिन पूजा तथा टीका ग्रहण गर्ने दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र सौभाग्यको वरदान दिएको मान्यता रहेको उनले उल्लेख गरेका छन् ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, स्वास्थ्य र प्रगतिको कामना गर्दै पूजा गर्ने तथा दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा र आशीर्वाद दिने परम्परालाई उनले स्मरण गराएका छन् ।
प्रधानमन्त्री शाहले यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, सम्मान र आत्मीय सम्बन्धलाई थप मजबुत बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।