काठमाडौं ।
निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ।
कार्कीको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको छ।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई बढुवा गरी नयाँ प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी रहेको र आफू अन्यायमा परेको दाबीसहित कार्की सर्वोच्च अदालत पुगेका हुन्। उनले सरकारको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए।
तिहार तथा छठ पर्वको बिदापछि मंगलबारदेखि सर्वोच्च अदालत नियमित सञ्चालनमा आएपछि अदालत प्रशासनले कार्कीको रिटमाथि बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति निर्धारण गरेको हो।