मुगु ।
मुगुको खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक लामो समयदेखि अवरुद्ध हुँदा स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ । सडक बन्द भएपछि दैनिक आवतजावत गर्ने नागरिकदेखि रारा घुम्न आउने पर्यटक र जुम्लातर्फ जाने यात्रुसमेत समस्यामा परेका छन् ।
खत्याड गाउँपालिका–८ नुवाखेत क्षेत्रमा निरन्तर सुक्खा पहिरो खसिरहेपछि करिब दुई महिनादेखि सडकमा यातायात सञ्चालन हुन सकेको छैन । सडक अवरुद्ध हुँदा गाउँपालिकाका ११ वटै वडाका बासिन्दालाई आवतजावत गर्न कठिन भएको स्थानीय बताउँछन् ।
सडक बन्द भएपछि गाउँपालिकाको केन्द्र, जिल्ला सदरमुकाम गमगढी, इलाका प्रशासन कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थासम्म पुग्नसमेत स्थानीयलाई सास्ती भएको छ । विशेषगरी बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, विद्यार्थी र अशक्त व्यक्तिहरू बढी प्रभावित भएका छन् ।
यस सडकबाट रारा ताल पुग्ने पर्यटकको आवागमनमा समेत असर परेको छ । त्यस्तै, खत्याड हुँदै जुम्लाको गोठीज्युला जाने यात्रुले पनि वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने वा लामो पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
पहिरोले सडकमा मात्रै क्षति पुर्याएको छैन । सिँचाइ कुलो, झोलुङ्गे पुल, खानेपानीका संरचना, गोरेटो बाटो तथा ठूलो क्षेत्रफलको खेतीयोग्य जमिनसमेत प्रभावित भएका छन् । पहिरो आसपासका बस्तीमा समेत जोखिम बढ्दै गएको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार सडक सञ्चालनमा रहँदा केही मिनेटमै पार गर्न सकिने दूरी अहिले पैदल हिँड्दा घण्टौँ लाग्ने गरेको छ । पहिरोका कारण सिँचाइ कुलो बगाएपछि खेतीयोग्य जमिन बाँझै रहने अवस्था सिर्जना भएको छ । गहुँ छर्ने समय भइसक्दा पनि सिँचाइ र आवतजावतको सुविधा नहुँदा किसान थप समस्यामा परेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गत कात्तिक ९ गते पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । त्यसक्रममा उनले तत्काल सडक सञ्चालन गर्ने पहल गर्नुका साथै भूगर्भविद्सहितको प्राविधिक अध्ययन गराएर दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाएका थिए । तर, हालसम्म उक्त प्रतिबद्धता कार्यान्वयनमा आउन सकेको छैन ।
पहिरो प्रभावित क्षेत्रको समस्या समाधानका लागि गाउँपालिका, सम्बन्धित वडाका जनप्रतिनिधि र सरोकारवाला निकायबीच छलफल भइरहेको जनाइएको छ ।
यता पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख इन्जिनियर सुशील आचार्यले प्रभावित क्षेत्रमा प्राविधिक टोली पठाएर पहिरोको अवस्था अध्ययन गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार पहिरोको प्रकृति र जोखिमको मूल्याङ्कनपछि तत्काल सडक खुलाउने तथा दीर्घकालीन समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
कर्णालीका अन्य सडकको तुलनामा छोटो र तुलनात्मक रूपमा सुरक्षित मानिँदै आएको खत्याड–रारा सडक पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै गएको थियो । तर, सडकको प्रवेश मार्गमै पहिरो खसेर लामो समयसम्म यातायात ठप्प हुँदा स्थानीय जनजीवन, कृषि उत्पादन र पर्यटन व्यवसायसमेत प्रभावित बनेको छ ।