काठमाडौँ ।
नेपाल र भारतबीच रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई एकआपसमा जोडेर सीमापार धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा दुवै देशका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन्।
नीति अनुसन्धान प्रतिष्ठान नेपाल (नेनाप) ले आयोजना गरेको नेपाल–भारत नीति संवादमा सहभागी विज्ञहरूले दुई देशका धार्मिक तथा पुरातात्विक गन्तव्यलाई समेटेर साझा पर्यटन परिपथ निर्माण गर्न सके पर्यटन प्रवर्द्धनसँगै आपसी सम्बन्ध पनि थप मजबुत हुने धारणा राखेका हुन्।
कार्यक्रममा भारतीय जनता पार्टीका राष्ट्रिय कार्यकारिणी सदस्य तथा डा. श्यामप्रसाद मुखर्जी रिसर्च फाउन्डेसनका प्रमुख डा. अनिरवन गांगुलीले नेपाल र भारतले संयुक्त रूपमा नयाँ धार्मिक पर्यटन परिपथ विकास गर्न सक्ने बताए। उनले नेपालमा सुरक्षित रहेका प्राचीन धार्मिक ग्रन्थको संरक्षण, डिजिटल अभिलेखीकरण र अनुवादका लागि दुवै देशले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार धार्मिक ग्रन्थको डिजिटलाइजेसन र अनुवादले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप गहिरो बनाउन सहयोग पुर्याउनेछ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले नेपाल र भारतबीचका विषयमा मतभिन्नता देखिँदा पत्रकारिताले संवाद र संयमताको वातावरण बनाउन भूमिका खेल्नुपर्ने बताए। दुवै देशका सञ्चारमाध्यमले भोगिरहेका साझा चुनौती समाधान गर्न पत्रकारबीच सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
उनले पर्यटन गन्तव्यको प्रचारप्रसार र सञ्चारकर्मीबीच अनुभव आदानप्रदानका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। प्रविधिको बढ्दो प्रभावले पत्रकारिताको मूल मूल्य र जिम्मेवारीमा असर पार्न सक्ने भन्दै उनले त्यसप्रति सचेत रहनुपर्ने धारणा राखे।
भारतीय पत्रकार तथा मिडिया अध्ययनकर्ता अरुण आनन्दले नेपाल र भारतको साझा सभ्यता तथा सांस्कृतिक पहिचानमाथि विभिन्न माध्यमबाट चुनौती सिर्जना भइरहेको बताए। उनले दुवै देशका सञ्चारमाध्यमबीच विश्वास र सहकार्यको वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे।
पत्रकार डा. गोपाल खनालले दुई देशबीच उत्पन्न हुने समस्या समाधानमा सञ्चारमाध्यमले संवादको भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले धार्मिक तथा सांस्कृतिक स्थललाई जोडेर सीमापार पर्यटनका नयाँ सम्भावना खोज्नुपर्ने सुझाव दिए।
नेपाल एकेडेमी अफ टुरिजम, होटल एन्ड माउन्टेनियरिङ (नाथम) का निर्देशक अजय ढकालले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउन दुवै देशका नागरिक, कर्मचारी र राजनीतिक नेतृत्वबीच सहकार्य बढाउनुपर्ने बताए।
पर्यटन व्यवसायी तथा शोधकर्ता बलबहादुर तामाङले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार विस्तार, प्रविधिको प्रयोग र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए।
अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता विराटकृष्ण थापाले सामाजिक सञ्जालमा फैलिने गलत सूचना, भ्रामक भिडियो र योजनाबद्ध प्रचार सामग्रीले नेपाल–भारत सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्ने बताए। यस्ता सामग्रीले सर्वसाधारणदेखि सामाजिक र पारिवारिक सम्बन्धसम्म असर पुर्याउन सक्ने भएकाले दुवै देशले सचेत प्रयास गर्नुपर्ने उनको भनाइ थियो।
नेपाल पर्यटन बोर्डका अनुसन्धान निर्देशक लक्ष्मण गौतमले धार्मिक पर्यटनको सम्भाव्यता अध्ययन गरी नेपाल र भारतलाई जोड्ने नयाँ पर्यटन परिपथ निर्माण गर्नुपर्नेमा जोड दिए।
तीनदिने नीति संवाद सम्पन्न
नेपाल र भारतका विज्ञहरूको सहभागितामा शुक्रबारदेखि सुरु भएको तीनदिने नीति संवाद आइतबार सम्पन्न भएको छ। संवादमा राजनीति तथा कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, ऊर्जा, प्रविधि, पूर्वाधार, युवा, संस्कृति, अर्थतन्त्र, सीमा व्यवस्थापन, विपद् व्यवस्थापन, सुरक्षा, सञ्चारमाध्यम र पर्यटनलगायत विषयमा छलफल गरिएको थियो।
विभिन्न क्षेत्रका विज्ञहरूले दुई देशबीच देखिएका समस्या र सम्भावित समाधानका उपायबारे सुझाव प्रस्तुत गरेका थिए। साथै, आपसी सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य गर्न सकिने क्षेत्रहरूको पहिचानमा समेत छलफल भएको थियो।
समापन समारोहमा नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा. दीपककुमार अधिकारीले नेपाल र भारतको सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई थप विस्तार गर्नुपर्ने बताए। उनका अनुसार दुई देशबीच सम्पर्क र सहकार्यका क्षेत्र बढ्दै जाँदा आपसी सम्बन्ध पनि थप मजबुत बन्नेछ।
प्रतिष्ठानका अध्यक्ष डा. प्रेमराज न्यौपानेले यस्ता नीतिगत संवादले भविष्यमा उत्पन्न हुन सक्ने समस्याको पहिचान र समाधान खोज्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा आयोजकका तर्फबाट निकेश लम्सालले सहभागी विज्ञ तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै यस्ता संवादले नेपाल र भारतको साझा विकासमा योगदान पुर्याउने बताए।
समापन कार्यक्रममा दुवै देशका विश्वविद्यालयका उपकुलपति, प्राध्यापक, अनुसन्धानकर्ता, पत्रकार तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। नीति अनुसन्धान प्रतिष्ठानले नेपालका विभिन्न नीतिगत तथा समसामयिक विषयमा अध्ययन, अनुसन्धान र बहसका कार्यक्रम सञ्चालन गर्दै आएको छ।