बाह्रै महिना पर्यटकको रोजाइमा गोसाइँकुण्ड, दैनिक पुग्छन् करिब १०० पदयात्री
बाह्रै महिना पर्यटकको रोजाइमा गोसाइँकुण्ड, दैनिक पुग्छन् करिब १०० पदयात्री
    • बेल संचार

    • ६ मंसिर २०८३, आईतवार

रसुवा ।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पदयात्राको रोमाञ्चक अनुभवका कारण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्ड पछिल्लो समय वर्षभरि नै पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ ।

समुद्री सतहदेखि ४ हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा जनैपूर्णिमा, गङ्गादशहरा लगायतका विशेष धार्मिक अवसरमा मात्रै भक्तजन तथा पर्यटकको भीड लाग्ने गर्थ्यो । तर, अहिले आन्तरिक तथा विदेशी पर्यटक जुनसुकै मौसममा पनि यहाँ पुग्न थालेका छन् ।

सडक पहुँच विस्तार हुनुका साथै पदमार्गमा होटल, लज तथा खानबस्नका सुविधा थपिँदै गएपछि यात्रा पहिलेभन्दा सहज बनेको स्थानीय व्यवसायीहरूको भनाइ छ । काठमाडौँबाट सवारीसाधनमा धुन्चेसम्म पुगेर त्यहाँबाट करिब दुई दिन पैदल हिँडेपछि गोसाइँकुण्ड पुग्न सकिन्छ । सुन्दरीजल र नुवाकोटको समुद्रटार हुँदै जाने वैकल्पिक पदमार्ग पनि पर्यटकले प्रयोग गर्दै आएका छन् ।

स्थानीय होटल व्यवसायी सृजना घलेका अनुसार पहिले विशेष पर्व र मेलाका बेला मात्रै पर्यटकको चहलपहल हुने यस क्षेत्रमा अहिले नियमित रूपमा पदयात्री आउन थालेका छन् । पदमार्गमा आवास तथा खानपानको सुविधा बढेपछि पर्यटकलाई बाह्रै महिना यात्रा गर्न सहज भएको उनले बताइन् ।

धुन्चेका होटल व्यवसायी विशाल घलेका अनुसार सामान्य अवस्थामा दैनिक करिब १०० जना पर्यटक गोसाइँकुण्ड क्षेत्र पुग्ने गरेका छन् । भदौ १० गते आएको बाढीले सडक तथा भौतिक संरचनामा क्षति पुर्‍याएपछि केही समय पर्यटक आगमन प्रभावित भए पनि अहिले पर्यटन गतिविधि क्रमशः सामान्य बन्दै गएको उनले बताए ।

मिनी गोसाइँकुण्डमा होटल सञ्चालन गर्दै आएकी सीता देवकोटाले पनि बाढीका कारण केही समय व्यवसायमा असर परे पनि अहिले पर्यटकको आवागमन बढ्न थालेको जानकारी दिइन् । यात्राका क्रममा धैबुङको दहीचिउरा, धुन्चेको आतिथ्य र चन्दनबारीको प्राकृतिक सुन्दरताले पर्यटकलाई थप आकर्षित गर्ने गरेको उनको भनाइ छ ।

धार्मिक आस्था र पौराणिक महत्व

गोसाइँकुण्ड हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ । धार्मिक मान्यताअनुसार यहाँ स्नान तथा पूजाआराधना गर्दा पुण्य प्राप्त हुने र देवीदेवताको दर्शन गरेसरह फल मिल्ने विश्वास छ ।

स्थानीय समाजसेवी दावाफिन्जो तामाङका अनुसार पौराणिक कथामा समुद्रमन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि भगवान् शिवलाई भएको जलन शान्त पार्न उहाँले त्रिशूलले पहाडमा प्रहार गर्दा जलधारा उत्पन्न भएको र त्यसैबाट गोसाइँकुण्ड बनेको उल्लेख छ ।

स्थानीय पुरोहित टङ्कप्रसाद ढकालका अनुसार यही धार्मिक विश्वासका आधारमा श्रद्धालुहरू कुण्डमा स्नान गरी भगवान् शिवको आराधना गर्ने र सुख, शान्ति तथा स्वास्थ्यको कामना गर्ने गर्छन् ।

गोसाइँकुण्डको ऐतिहासिक महत्व पनि उत्तिकै छ । नेपाल–अङ्ग्रेज युद्धपछि भएको सुगौली सन्धिबाट नेपालको हितविपरीत परिस्थिति सिर्जना भएको भन्दै राष्ट्रिय विभूति अमरसिंह थापाले गोसाइँस्थान क्षेत्रमा अन्तिम समय बिताएको स्थानीय धार्मिक इतिहासमा उल्लेख रहेको पुरोहित ढकालले बताए । उनका अनुसार कुण्डको दक्षिणतर्फ रहेको भिरको गुफामा थापाले जीवनको अन्तिम समय बिताएका थिए ।

वर्षेनी १० हजारभन्दा बढीको भ्रमण

गोसाइँकुण्ड क्षेत्रमा प्रत्येक वर्ष १० हजारभन्दा बढी भक्तजन तथा पदयात्री पुग्ने गरेका छन् । धार्मिक परम्पराअनुसार यात्रा सुरु गर्नुअघि कुलदेवताको अनुमति लिने, वेत्रावती नदीमा केश मुण्डन गर्ने र गङ्गापूजा गर्ने चलन छ ।

यात्राका क्रममा ‘ॐ नमः शिवाय’ जप्दै लौरीविनायक हुँदै सुलाद्री पर्वत आरोहण गर्ने र त्यहाँ लौरी चढाउने परम्परा पनि रहिआएको छ ।

उच्च हिमाली यात्रामा स्वास्थ्य सतर्कता आवश्यक

गोसाइँकुण्ड पदयात्रा प्राकृतिक रूपमा आकर्षक भए पनि उच्च उचाइका कारण स्वास्थ्य जोखिमलाई बेवास्ता गर्न मिल्दैन । विशेषगरी लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा वनस्पति कम हुनु र हावामा अक्सिजनको उपलब्धता घट्दै जानुले लेक लाग्ने जोखिम बढाउँछ ।

त्यसैले पदयात्रामा निस्कनुअघि शारीरिक तयारी गर्न, पर्याप्त पानी पिउन, उचाइअनुसार बिस्तारै यात्रा गर्न र आवश्यक औषधि साथमा राख्न सुझाव दिइन्छ । लेक लाग्ने लक्षण देखिएमा जबर्जस्ती यात्रा जारी नराखी तल्लो उचाइमा झर्नु र आवश्यक स्वास्थ्य सहायता लिनु महत्त्वपूर्ण हुन्छ ।

धार्मिक विश्वास, ऐतिहासिक विरासत र हिमाली प्राकृतिक सौन्दर्यको अनुपम संगम रहेको गोसाइँकुण्ड पछिल्लो समय नेपालको महत्वपूर्ण धार्मिक तथा साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

साताकाे चर्चित
सम्बन्धित