सगरमाथा क्षेत्रमा चिसो बढेपछि पर्यटक फर्किने क्रम तीव्र, एक सातामै १ हजार १८० बाहिरिए
सगरमाथा क्षेत्रमा चिसो बढेपछि पर्यटक फर्किने क्रम तीव्र, एक सातामै १ हजार १८० बाहिरिए
    • बेल संचार

    • ६ मंसिर २०८३, आईतवार

सोलुखुम्बु ।

हिउँद नजिकिएसँगै सगरमाथा क्षेत्रको तापक्रम घट्न थालेपछि खुम्बु भ्रमणमा आएका पर्यटक फर्किने क्रम बढेको छ । पछिल्लो एक साताको तथ्याङ्कमा खुम्बु प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार पछिल्लो सात दिनमा हवाई मार्ग हुँदै १ हजार १८० पर्यटक खुम्बु क्षेत्रबाट बाहिरिएका छन् । सोही अवधिमा ५२९ जना मात्रै खुम्बु प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या ६५१ ले बढी रहेको छ ।

प्रहरीको विवरणअनुसार बाहिरिनेमा ८७७ विदेशी र ३०३ नेपाली पर्यटक छन् । यसैगरी, खुम्बु प्रवेश गर्नेमा ३७४ विदेशी र १५५ नेपाली पर्यटक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार बाहिरिएका विदेशी पर्यटकमध्ये ३२७ महिला र ५५० पुरुष छन् । नेपाली पर्यटकतर्फ ४६ महिला र २५७ पुरुष बाहिरिएका छन् । प्रवेश गर्ने विदेशीमध्ये १०२ महिला र २७२ पुरुष तथा नेपालीमध्ये ५४ महिला र १०१ पुरुष रहेका छन् ।

स्थानीय बासिन्दा दाली शेर्पाका अनुसार खुम्बु क्षेत्रमा राति र बिहानको तापक्रम माइनसमा झर्न थालेको छ । नाम्चे बजार आसपासमै पानी जम्न थालेपछि चिसोको प्रभाव बढेको र पर्यटक फर्किने क्रम तीव्र भएको उनले बताए ।

सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय समय वसन्त र शरद् ऋतु हो । विशेषगरी असोज र कात्तिकमा मौसम सफा रहने, हिमालको दृश्य स्पष्ट देखिने र पदयात्राका लागि अनुकूल वातावरण हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटकको आगमन उल्लेख्य हुन्छ । तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्ने र उच्च क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटकले यात्रा टुङ्ग्याएर फर्कन थाल्छन् ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाका अनुसार जाडो सुरु भएपछि उच्च हिमाली क्षेत्रमा पर्यटकको बसाइ र गतिविधि प्रभावित हुन्छ । मौसम, तापक्रम र पदमार्गको अवस्थालाई मूल्याङ्कन गरेर पर्यटकले आफ्नो भ्रमण योजना बनाउने भएकाले सिजनको अन्त्यतिर फर्किनेको सङ्ख्या बढ्नु स्वाभाविक रहेको उनले बताए ।

पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले पनि खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसममा निर्भर रहने बताए । चिसो बढ्दै जाँदा उच्च भेगको यात्रा चुनौतीपूर्ण बन्ने र पर्यटकको चाप क्रमशः घट्ने उनको भनाइ छ ।

लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरका अनुसार पर्यटकको आवागमनसँगै हवाई उडानको चापमा पनि मौसमी उतारचढाव देखिने गरेको छ । पर्यटकको सङ्ख्या र मौसमको अवस्थाले लुक्लाबाट हुने हवाई सेवामा प्रत्यक्ष प्रभाव पार्ने उनले बताए ।

लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठका अनुसार पर्यटकको मुख्य सिजन सकिन लाग्दा होटल, पसल तथा पदयात्रासँग सम्बन्धित व्यवसायमा पनि चहलपहल कम हुन थाल्छ । पर्यटकले चिसो बढ्नुअघि नै यात्रा छोट्याएर तल्लो क्षेत्रमा फर्कने गरेको उनले बताए ।

प्रहरीको पछिल्लो विवरणअनुसार उक्त सात दिनमा खुम्बु क्षेत्रमा ६९ वटा हवाई उडान र २८ वटा हेलिकप्टर उडान भएका छन् । खुम्बु क्षेत्रमा पर्यटकको आवागमनका लागि हवाई सेवा प्रमुख माध्यममध्ये एक हो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे र लुक्ला यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन् । यी क्षेत्रमा वसन्त र शरद् ऋतुमा पर्यटकको चाप बढी हुने पर्यटनविद् आङछिरिङ शेर्पा बताउँछन् ।

उनका अनुसार वसन्त पर्यटन सिजन फागुनदेखि जेठसम्म र शरद् सिजन भदौको अन्त्यदेखि मङ्सिरसम्म रहने गर्छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले पनि शरद् सिजनको अन्त्यसँगै तापक्रम घट्ने र मौसममा आउने परिवर्तनले पर्यटन गतिविधि सुस्त बनाउने बताए ।

पछिल्लो साप्ताहिक तथ्याङ्कमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढी देखिनुले खुम्बु क्षेत्रको शरद् पर्यटन सिजन अन्तिम चरणमा पुगेको संकेत गरेको छ । आगामी दिनमा चिसो र मौसमको प्रतिकूलताले पर्यटकको आवागमन थप प्रभावित हुन सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको अनुमान छ ।

साताकाे चर्चित
सम्बन्धित