हिन्दु राष्ट्रका लागि सडक र सदन दुवैबाट दबाब दिनुपर्छ : सांसद खुश्बु ओली
हिन्दु राष्ट्रका लागि सडक र सदन दुवैबाट दबाब दिनुपर्छ : सांसद खुश्बु ओली
    • बेल संचार

    • ६ मंसिर २०८३, आईतवार

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि संसद् र सडक दुवै तहबाट सशक्त अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन्।

नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्रको मुद्दालाई प्रभावकारी बनाउन धार्मिक गुरु, धार्मिक संघसंस्था र राजनीतिक दलहरू एकजुट हुनुपर्ने धारणा राखिन्।

उनले मठमन्दिरमा आउने विभिन्न राजनीतिक दलका नेताहरूसँग हिन्दु राष्ट्र स्थापनाबारे प्रश्न गर्न धार्मिक गुरुहरूलाई आग्रह गरिन्। नेताहरू मन्दिरमा पुग्दा ‘हाम्रो हिन्दु राष्ट्र खोइ ?’ भनेर जवाफ माग्नुपर्ने उनको भनाइ थियो।

सांसद ओलीले हिन्दु समुदायका मुद्दामा प्रभावकारी रूपमा उभिन नसक्दा सनातन धर्मावलम्बीको विश्वास कमजोर हुँदै गएको पनि स्वीकार गरिन्। विगतका कमजोरी सच्याउँदै धार्मिक समुदायको पक्षमा व्यवहारमै काम गर्नुपर्ने उनको जोड थियो।

उनले गौहत्या, गौतस्करी तथा हिन्दु समुदायमाथि हुने हिंसाका घटनामा मौन बस्न नहुने भन्दै त्यस्ता गतिविधिविरुद्ध सडकबाटै विरोध र खबरदारी गर्नुपर्ने बताइन्।

हिन्दु राष्ट्र स्थापनाको अभियानमा राप्रपाले संसद्भित्र निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै उनले संसद्बाहिरबाट धार्मिक गुरु तथा धार्मिक संगठनको साथ आवश्यक रहेको उल्लेख गरिन्।

‘हिन्दु राष्ट्र स्थापनाका लागि अहिलेको समयलाई उपयोग गर्नुपर्छ,’ उनको भनाइ थियो।

साताकाे चर्चित
सम्बन्धित