आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै, शिव–विष्णुको आराधना गरिने
आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै, शिव–विष्णुको आराधना गरिने
    • बेल संचार

    • ७ मंसिर २०८३, सोमबार

काठमाडौं ।

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाउने वैकुण्ठ चतुर्दशी पर्व आज विभिन्न धार्मिक विधि पूरा गरी मनाउँदैछन्। यस अवसरमा बिहानै नदी तथा तीर्थस्थलमा स्नान गर्ने, दानपुण्य गर्ने, जप र ध्यान गर्ने परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार यस दिन भगवान् विष्णुको पूजा आराधना गर्नुका साथै रातभर जाग्राम बस्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ। वैकुण्ठ चतुर्दशीलाई भगवान् शिव र विष्णु दुवैसँग सम्बन्धित पर्वका रूपमा लिइन्छ। त्यसैले यस दिनलाई हरि र हर अर्थात् विष्णु र शिवको मिलनको उत्सवका रूपमा समेत मनाउने गरिन्छ।

वैकुण्ठ भगवान् विष्णुको एक नाम हो। धार्मिक ग्रन्थहरूमा वैकुण्ठलाई दुःख र कुण्ठारहित ज्ञान तथा दिव्य स्थानका रूपमा व्याख्या गरिएको छ। भगवान् विष्णुले सृष्टिको व्यवस्थापन र संरक्षणका क्रममा विभिन्न तत्वलाई सन्तुलित रूपमा संयोजन गरेको पौराणिक मान्यतासँग पनि वैकुण्ठ नाम जोडिएको छ।

यस दिन विधिपूर्वक पूजा गर्न नसक्नेले भगवान् विष्णुको नाम स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुने र दुःख तथा सङ्कटबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। विष्णुलाई सृष्टिको पालनकर्ता र लोककल्याण गर्ने देवताका रूपमा पूजा गरिन्छ।

महाभारतको शान्तिपर्वमा भीष्मले धर्मराज युधिष्ठिरसहित पाँच पाण्डवलाई भगवान् विष्णुको महिमा र स्तुतिबारे उपदेश दिएको प्रसङ्ग उल्लेख छ। भीष्मले विष्णुको स्तुति तथा नाम जपबाट मानिसले दुःखबाट मुक्ति पाउन सक्ने बताएका थिए। यही प्रसङ्गसँग जोडेर वैकुण्ठ चतुर्दशीदेखि भीष्मपञ्चक पर्वसमेत सुरु हुने धार्मिक मान्यता छ।

नेपालका विभिन्न धार्मिक स्थल र नदीहरूको सम्बन्ध पनि भगवान् विष्णुसँग जोडिएको पाइन्छ। गण्डकी नदी, दामोदर कुण्ड तथा काठमाडौं उपत्यकाको विष्णुमती नदीलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। त्यस्तै बूढानीलकण्ठस्थित भगवान् विष्णुको शयन मुद्रामा रहेको मूर्ति धार्मिक आस्था र कलात्मकताका दृष्टिले प्रसिद्ध छ।

पण्डित बालमुकुन्द देवकोटाका अनुसार हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजकै दिन वैकुण्ठधाम फर्किएको पौराणिक विश्वास छ। विष्णु शयनमा रहँदा सृष्टिको सञ्चालनसम्बन्धी जिम्मेवारी भगवान् शिवले सम्हालेको र आजकै दिन पुनः विष्णुलाई जिम्मेवारी हस्तान्तरण गरी शिव कैलाश फर्किने मान्यता रहेको उनले बताए।

यही धार्मिक विश्वासका कारण वैकुण्ठ चतुर्दशीलाई शिव र विष्णुबीचको एकता तथा मिलनको प्रतीकका रूपमा पनि लिने गरिन्छ।

साताकाे चर्चित
सम्बन्धित