काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सहकार्यमा अघि बढाइएका तथा दुई देशलाई जोड्ने ६ वटा महत्त्वपूर्ण परियोजनाको शिलान्यास, उद्घाटन र हस्तान्तरण गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा दुवै देशका प्रधानमन्त्रीले विभिन्न पूर्वाधार तथा ऊर्जा परियोजनाको संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।
यसक्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने यो आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ। आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।
आयोजना निर्माणका लागि नेपाल लगानी बोर्ड र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ गते परियोजना विकास सम्झौता भएको थियो।
त्यसैगरी भारतसँगको व्यापार तथा पारवहन पूर्वाधारलाई थप व्यवस्थित बनाउने उद्देश्यले बनबासा सुक्खा बन्दरगाहको पनि शिलान्यास गरिएको छ।
ऊर्जा तथा पेट्रोलियम पूर्वाधारअन्तर्गत भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार र झापामा टर्मिनल निर्माणको काम अघि बढाउन शिलान्यास गरिएको छ। यसले भविष्यमा पेट्रोलियम पदार्थको ढुवानी तथा आपूर्ति प्रणालीलाई सहज बनाउने अपेक्षा गरिएको छ। यसै अवसरमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पनि नेपाललाई हस्तान्तरण गरिएको छ।
नेपाल र भारतबीचको सीमा आवागमनलाई सहज बनाउने अर्को महत्वपूर्ण उपलब्धिका रूपमा धार्चुला–दार्चुला जोड्ने पक्की पुलको उद्घाटन गरिएको छ।
यसैगरी धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भारतको अयोध्या र नेपालको जनकपुरधाम जोड्ने सरयु–कमला एक्सप्रेस रेल सेवाको पनि उद्घाटन गरिएको छ। रामायण सर्किटअन्तर्गत अघि बढाइएको यस रेल सेवाले दुवै देशका दुई ऐतिहासिक तथा धार्मिक सहरलाई प्रत्यक्ष रेलमार्गबाट जोडेको छ।
भारतको अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित रेलवेका उच्च अधिकारीहरूले जनकपुरधाम जाने रेललाई बिदाइ गरेका थिए।
भारतीय रेलवेले यसअघि नै जनकपुरधाम र उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो। करिब ६०४ किलोमिटर दूरीको यो रेलमार्गले नेपाल–भारतबीच धार्मिक पर्यटन, तीर्थयात्रा र सीमापार यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
निर्धारित तालिकाअनुसार रेल प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट रेल छुटेर जनकपुरधाम फर्किनेछ।
यस रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ।
यी परियोजनाको शुभारम्भसँगै नेपाल–भारतबीच ऊर्जा, व्यापार, पेट्रोलियम आपूर्ति, यातायात र धार्मिक पर्यटनका क्षेत्रमा सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।