नेपालको जलविद्युत् सम्भावनालाई भारतको बजारसँग जोड्न सकिन्छ : मोदी
नेपालको जलविद्युत् सम्भावनालाई भारतको बजारसँग जोड्न सकिन्छ : मोदी
    • बेल संचार

    • ७ मंसिर २०८३, सोमबार

काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जलविद्युत् उत्पादन क्षमता र भारतको विशाल ऊर्जा बजारबीच सहकार्य विस्तार गर्न सके त्यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

सोमबार नयाँ दिल्लीमा नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपालको नदीहरूमा स्वच्छ ऊर्जा उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गरे। उनले भारतको ऊर्जा बजारलाई नेपालको जलविद्युत् विकास र आर्थिक समृद्धिका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।

मोदीले नेपाल–भारत आर्थिक साझेदारीलाई थप मजबुत बनाउन ऊर्जा सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए। नेपालको जलविद्युत् उत्पादनलाई बजारसँग जोड्न सके त्यसबाट दुवै देश लाभान्वित हुने उनको भनाइ थियो।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा डिजिटल माध्यमबाट ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन्।

तल्लो अरुणको शिलान्यास, अरुण तेस्रो समयमै सम्पन्न गर्ने प्रतिबद्धता

मोदीले तल्लो अरुण आयोजनाको शिलान्यासलाई नेपाल–भारत ऊर्जा सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे। उनले अरुण तेस्रो जलविद्युत् आयोजना पनि निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याए।

नेपाल र भारतबीचको सहकार्यले नेपालको जलविद्युत् स्रोतलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्दै दुवै देशको साझा समृद्धिमा योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री शाहको आग्रह

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले नेपालको आर्थिक विकासमा साझेदारी गर्न भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि स्वागत गरेका छन्।

उनले दुई देशबीच भएका समझदारी र अघि बढाइएका परियोजनाले युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै उद्यमी तथा व्यवसायीलाई नयाँ लगानीका अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए।

नेपालका हिमाल र नदीहरूलाई साझा प्राकृतिक सम्पदाका रूपमा व्याख्या गर्दै शाहले हिमाली जलस्रोतले यस क्षेत्रका करोडौँ मानिसको जीवन र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको बताए।

हिमालयबाट बग्ने नदीहरू भारत हुँदै गङ्गामा मिसिने भएकाले दुवै देशको भविष्य र समृद्धि एकअर्कासँग जोडिएको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको पनि औँल्याए। प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोगमार्फत साझा विकासको लक्ष्य हासिल गर्न दुवै देशले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए।

साताकाे चर्चित
सम्बन्धित