नेपाल–भारत सम्बन्धमा विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ अविरल होस् : प्रधानमन्त्री बालेन
नेपाल–भारत सम्बन्धमा विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ अविरल होस् : प्रधानमन्त्री बालेन
    • बेल संचार

    • ७ मंसिर २०८३, सोमबार

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीचको सम्बन्ध आपसी विश्वास, पारस्परिक सम्मान र निरन्तर सहकार्यमा आधारित भएर थप सुदृढ हुँदै जाओस् भन्ने कामना गरेका छन्।

सोमबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुई देशको मित्रता र साझा समृद्धिको कामना गरेका हुन्।

उनले नेपाल–भारत सम्बन्धलाई विश्वासको उचाइ र सहकार्यको निरन्तरतासँग तुलना गर्दै दुवै देशको प्रगति र समृद्धि साझा लक्ष्य बन्नुपर्ने धारणा राखे।

‘नेपाल र भारतबीचको मित्रतामा विश्वास हिमालझैँ अग्लो होस्, सहकार्य नदीझैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि साझा आकाशमुनि फक्रियोस्,’ प्रधानमन्त्री शाहले भने।

नेपाल र भारतबीचको सम्बन्ध सामान्य कूटनीतिक सम्बन्धभन्दा फराकिलो रहेको उल्लेख गर्दै उनले यसको जग पारस्परिक सम्मान, आपसी विश्वास र जनस्तरको आत्मीयतामा रहेको बताए। यही सम्बन्धलाई नयाँ चरणको विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने उनको जोड थियो।

प्रधानमन्त्री शाहले नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदाको आशीर्वाद र नेपाली जनताको सद्भावसहित आफू भारतको राजकीय भ्रमणमा आएको उल्लेख गरे।

भारतका प्रधानमन्त्री मोदीले भ्रमणको निमन्त्रणा दिनुका साथै गरेको आत्मीय स्वागतप्रति आभार व्यक्त गर्दै शाहले उनलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन्।

उनले भारतीय नागरिकलाई पनि नेपालका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको भ्रमण गर्न आग्रह गरे। मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरको जानकी मन्दिर, जीवित देवी कुमारी र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि उनले भारतीय जनतालाई आमन्त्रण गरेका हुन्।

यसैगरी प्रधानमन्त्री शाहले हिमालय क्षेत्रका प्राकृतिक जलस्रोतले नेपाल र भारतसहित आसपासका क्षेत्रका करोडौँ मानिसको जीवनमा महत्वपूर्ण भूमिका खेलेको बताए।

हिमालबाट उत्पन्न भएर गङ्गामा मिसिने नदीहरूले दुवै देशलाई प्राकृतिक रूपमा जोडेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि साझा प्रयास आवश्यक रहेको धारणा राखे।

उनका अनुसार प्राकृतिक स्रोतको संरक्षण, दिगो उपयोग र आपसी सहकार्यलाई प्राथमिकता दिएर अघि बढे नेपाल र भारतले साझा विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्छन्।

साताकाे चर्चित
सम्बन्धित