सम्झौता र परियोजनाको लाभ जनताले प्रत्यक्ष पाउनुपर्छ : प्रधानमन्त्री बालेन
सम्झौता र परियोजनाको लाभ जनताले प्रत्यक्ष पाउनुपर्छ : प्रधानमन्त्री बालेन
    • बेल संचार

    • ७ मंसिर २०८३, सोमबार

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीच भएका समझदारी तथा अघि बढाइएका विकास परियोजनाको वास्तविक लाभ दुवै देशका नागरिकले प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने बताएका छन्।

सोमबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले द्विपक्षीय सहकार्यको उपलब्धि जनताको जीवनस्तर सुधारमा देखिनुपर्ने बताएका हुन्।

उनले दुई देशबीच भएका सम्झौता र परियोजनाले किसानको उत्पादन तथा आम्दानी बढाउन, युवालाई रोजगारी उपलब्ध गराउन, विद्यार्थीलाई नयाँ अवसर सिर्जना गर्न र व्यवसायीलाई लगानी तथा बजार विस्तारमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए।

शाहले नेपाल–भारत सम्बन्धलाई ऐतिहासिक विरासतमा मात्र सीमित नराखी आपसी विश्वास, सहकार्य र आर्थिक साझेदारीमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताए। आगामी पुस्ताका लागि थप अवसर सिर्जना गर्नु दुवै देशको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।

भारत भ्रमणका क्रममा भएको प्रतिनिधिमण्डलस्तरीय छलफलमा द्विपक्षीय सम्बन्धका विभिन्न पक्ष, आर्थिक सहकार्य तथा पूर्वाधार विकासका विषयमा महत्वपूर्ण कुराकानी भएको उनले जानकारी दिए। छलफलका क्रममा विभिन्न समझदारी हुनुका साथै विकास आयोजनाको उद्घाटन र शिलान्याससमेत गरिएको थियो।

नेपाल र भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा समेत गहिरो रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भगवान् राम र माता जानकीसँग जोडिएको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने प्रयास भइरहेको बताए। यसैको निरन्तरताका रूपमा अयोध्या–जनकपुर रेल सेवा सञ्चालनलाई उनले महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे।

त्यस्तै, नेपालमा आर्थिक गतिविधि विस्तार गर्न भारतीय लगानीकर्तालाई स्वागत गर्दै शाहले दुवै देशबीच शैक्षिक तथा हवाई सम्पर्क विस्तारको आवश्यकता औँल्याए। नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने र नेपाल–भारतका विभिन्न सहरबीच प्रत्यक्ष हवाई सेवा विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्धमा विश्वास अझ बलियो बनोस्, सहकार्य निरन्तर अघि बढोस् र दुवै देशले साझा रूपमा समृद्धि हासिल गरून् भन्ने कामनासमेत व्यक्त गरे।

साताकाे चर्चित
सम्बन्धित