बुटवल ।
रसुवाको भोटेकोशीमा आएको बाढीको प्रभाव नारायणी नदीमा देखिएपछि जोखिममा परेको पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा अहिले बाढीको खतरा कम हुँदै गएको छ। जोखिम घटेसँगै सुरक्षित स्थानमा सारिएका स्थानीय बिस्तारै आफ्ना घर फर्किन थालेका छन्।
नारायणी नदीको जलसतह बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुस्ता गाउँपालिका–५ का ४ सयभन्दा बढी स्थानीयलाई बुधबार साँझ बीपी माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको थियो। विद्यालयमा राखिएका स्थानीयका लागि खानासहितको आवश्यक व्यवस्था समेत गरिएको थियो।
स्थानीयका अनुसार बिहीबार बिहानदेखि नारायणी नदीको पानीको सतह स्थिर हुँदै सामान्य अवस्थामा फर्किएपछि विस्थापितहरू घर फर्किन थालेका हुन्। सुस्ता गाउँपालिका–५ का वडा सदस्य एवं सुस्ता बचाउ अभियानका संयोजक आदम खाँका अनुसार बिहानैदेखि स्थानीयहरू पारी सुस्तास्थित घरतर्फ जान थालेका छन्।
उनका अनुसार सुस्ताको थारू टोलका करिब सात घरमा सामान्य रूपमा पानी पसे पनि ठूलो क्षति भएको छैन। सम्भावित जोखिम बढ्न सक्ने भएकाले पूर्वसावधानी अपनाउँदै अन्य बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।
स्थानीय प्रशासनले पनि बाढीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी गरेको जनाएको छ। सम्भावित अवस्था आउनुअघि नै स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन नदिएको प्रशासनको भनाइ छ।
यसैबीच, नारायणी नदीको जलसतह क्रमशः घट्दै गएको र गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएकाले सुस्ता क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जनाइएको छ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले चितवनतर्फबाट नारायणीमा आएको पानी तलतिर फैलिँदै जाँदा सुस्तासम्म आइपुग्दा बहावको प्रभाव केही कम भएको बताए।
प्रशासनका अनुसार अवस्था सामान्य बन्दै गए पनि नदी आसपासका बासिन्दालाई अझै केही समय सतर्क रहन आग्रह गरिएको छ। सम्भावित जलसतह वृद्धि तथा मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको जनाइएको छ।