बाजुरा ।
केही दिनदेखि जारी वर्षा रोकिएर मौसममा सुधार आएपछि बाजुराको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । आइतबारदेखि मौसममा सुधार देखिए पनि आज आकाश खुल्दै घाम लागेपछि जिल्लाका बजार, विद्यालय, सरकारी कार्यालय तथा यातायात सेवा नियमित हुन थालेका हुन् ।
लगातारको वर्षाका कारण प्रभावित लामो तथा छोटो दूरीका सवारीसाधन पुनः सञ्चालनमा आएका छन् । वर्षाका कारण रोकिएका शैक्षिक संस्था पनि आजदेखि खुलेका छन् । केही ग्रामीण सडकमा समेत अवरोध हटेपछि सवारीसाधन चल्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षाका कारण अवरुद्ध साँफे–मार्तडी सडकखण्डमा आइतबार पहिरो पन्छाएपछि यातायात सेवा पुनः सञ्चालन गरिएको थियो । मौसममा सुधार आएपछि अन्य प्रभावित सडकमा पनि आवागमन सहज बन्दै गएको छ ।
मौसम खुलेसँगै ग्रामीण क्षेत्रमा किसानहरू खेतबारीको काममा फर्किएका छन् । वर्षाका कारण रोकिएको धान काट्ने लगायतका कृषि कार्य पुनः सुरु भएको स्थानीय वीरबहादुर बुढाले बताए ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार मौसममा सुधारसँगै जिल्लाको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ । उनका अनुसार लामो तथा छोटो दूरीका यातायात सेवा आइतबारदेखि नै सञ्चालनमा ल्याइएको थियो ।