भोटेकोशी बाढीपछि काठमाडौंको विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्थापनको तयारी
भोटेकोशी बाढीपछि काठमाडौंको विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्थापनको तयारी
    • बेल संचार

    • १४ आश्विन २०८३, बुधबार

काठमाडौं ।

भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ। त्यसपछि काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा पर्न सक्ने चापलाई व्यवस्थापन गर्न सरकारले वैकल्पिक योजना अघि बढाएको छ।

बाढीका कारण त्रिशूली करिडोर हुँदै काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत आपूर्ति प्रभावित भएपछि वैकल्पिक स्रोत र प्रसारण संरचना सुदृढ गर्ने तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार नेपाल विद्युत प्राधिकरणले हिउँदमा बढ्ने विद्युत मागलाई ध्यानमा राख्दै छुट्टै टास्क फोर्समार्फत आवश्यक व्यवस्थापनको काम अघि बढाइरहेको छ।

थप भूमिगत ग्रिड निर्माणमा जोड

काठमाडौंको विद्युत आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउन मन्त्रालयले सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत विद्युत ग्रिड निर्माणका विषयमा छलफल गरेको छ।

प्राधिकरणले उपत्यकाका विभिन्न क्षेत्रमा भूमिगत विद्युत प्रणाली विस्तार तथा व्यवस्थापनलाई तीव्रता दिने तयारी गरेको हो। हिउँदमा विद्युत माग बढ्ने भएकाले वैकल्पिक आपूर्ति प्रणालीलाई बलियो बनाउन सम्बन्धित निकायबीच समन्वय बढाइएको मन्त्रालयले जनाएको छ।

छलफलमा सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुबोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै, काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले फुटपाथभित्र भूमिगत तार व्यवस्थापनलगायतका काममा आवश्यक सहकार्य गर्ने बताएका छन्।

नेपाल विद्युत प्राधिकरणका आयोजना निर्देशनालय प्रमुख दुर्गानन्द बडियातले उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित गर्दै हिउँदको विद्युत मागअनुसार वितरण प्रणालीलाई प्रभावकारी बनाउन सहकार्य गरिने बताए।

प्राधिकरणको बागमती वितरण तथा ग्राहक निर्देशनालयका प्रमुख मुनिन्द्र ठाकुरले काठमाडौंको विद्युत लोड व्यवस्थापनबारे प्रस्तुतीकरण गर्दै हिउँदे मागलाई ध्यानमा राखेर टास्क फोर्समार्फत काम भइरहेको जानकारी दिए।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले हिउँदमा बढ्ने विद्युत चाप व्यवस्थापनका लागि सबै सम्बन्धित निकायबीच उच्चस्तरको समन्वय आवश्यक रहेको बताए। उनले विद्युत आपूर्ति सहज बनाउन मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको पनि जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित