बिहारमा गंगा नदीमा डुंगा दुर्घटना, १४ जनाको मृत्यु
बिहारमा गंगा नदीमा डुंगा दुर्घटना, १४ जनाको मृत्यु
    • बेल संचार

    • २८ आश्विन २०८३, बुधबार

काठमाडौं ।

भारतको बिहार राज्यमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै उक्त दुर्घटना भएको हो। डुंगामा २० जनाभन्दा बढी व्यक्ति सवार रहेको बताइएको छ। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

डुंगामा सवार व्यक्तिहरू भोजमा सहभागी हुन जाने क्रममा दुर्घटना भएको जनाइएको छ। नदीमा डुंगा पल्टिएपछि स्थानीय प्रहरी तथा प्रशासनको टोलीले उद्धार अभियान सञ्चालन गरेको थियो।

दुर्घटना के कारणले भएको हो भन्नेबारे खुल्न बाँकी छ। घटनाबारे थप विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

दुर्घटनाप्रति बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुःख व्यक्त गरेका छन्। उनले ज्यान गुमाएकाहरूका परिवारलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन्। साथै, उद्धार कार्य प्रभावकारी बनाउन र घाइतेहरूको उचित उपचार सुनिश्चित गर्न प्रशासनलाई निर्देशन दिएका छन्।

राघोपुरका विधायक तथा बिहारका पूर्वउपमुख्यमन्त्री तेजस्वी यादवले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले स्थानीय बासिन्दा, प्रशासन र सम्बन्धित अधिकारीहरूसँग समन्वय गर्दै उद्धार तथा उपचार कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्।

त्यसैगरी, केन्द्रीय मन्त्री चिराग पासवानले दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। आफ्नो संसदीय क्षेत्रअन्तर्गत पर्ने राघोपुर दियारा क्षेत्रमा भएको घटनाका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारमा आवश्यक ध्यान दिन उनले सम्बन्धित अधिकारीहरूलाई आग्रह गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित