म्याग्दी ।
दसैँको टीकापछि म्याग्दीका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको आवागमन बढ्न थालेको छ। अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मतपछि यातायात सहज बनेसँगै घुमफिरमा निस्कने आन्तरिक पर्यटकको संख्या बढेको हो।
घोडेपानी, पुनहिल, खोपारा, सिंगा तथा भुरुङ–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से झरना र गलेश्वरलगायत क्षेत्रमा बिहीबारदेखि पर्यटकको चहलपहल बढेको स्थानीय व्यवसायीले बताएका छन्।
बेनी नगरपालिका–९, गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यका अनुसार असोजको दोस्रो सातामा कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि पर्यटकको आगमन निकै कम भएको थियो। सडक मर्मत गरी यातायात सञ्चालनमा आएपछि पर्यटक आउन थालेका छन्।
दसैँ र तिहारबीचको बिदामा पर्यटकको संख्या बढ्ने र लामो समयदेखि प्रभावित होटल तथा पर्यटन व्यवसायले गति लिने उनको अपेक्षा छ।
असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि पहिरो र कालीगण्डकीको बाढीले क्षति पुर्याउँदा अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको हो। विगतका तथ्याङ्कअनुसार असोज र कात्तिक विदेशी पर्यटकका लागि म्याग्दीमा बढी चहलपहल हुने समय मानिन्छ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानीका होटल व्यवसायी तथा अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले यस वर्ष बाढीपहिरोका कारण अघिल्ला वर्षको तुलनामा विदेशी पर्यटक कम आउने सम्भावना रहेको बताए। यद्यपि, दसैँ–तिहारको बिदामा पदयात्रा गर्न आउने आन्तरिक पर्यटकको आगमन बढ्ने आशा गरिएको उनको भनाइ छ।
उनका अनुसार घोडेपानी–पुनहिल–घान्द्रुक पदमार्ग सुरक्षित छ। बाढीपहिरोबाट क्षति पुगेका सडक तथा पदमार्ग मर्मत गरी आवागमन सहज बनाइएकाले पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ।
घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिँडेर पुगिने समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय, हिमशृङ्खलाको दृश्यावलोकन र पदयात्राका लागि लोकप्रिय गन्तव्य हो।
म्याग्दीका प्राकृतिक तथा धार्मिक पर्यटनस्थलमा समेत पर्यटकको आवागमन पुनः बढ्न थालेको छ। बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्ड म्याग्दी नदीको बाढीबाट क्षति पुगेपछि मर्मत गरी असोजको अन्तिम सातादेखि पुनः सञ्चालनमा ल्याइएको छ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ–तातोपानी र पाउद्धार तातोपानी कुण्ड पनि पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेका छन्। अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ यात्रा गर्ने पर्यटकले विश्राम तथा प्राकृतिक तातोपानीमा स्नान गर्न यी क्षेत्र रोज्ने गरेका छन्।
भुरुङ–तातोपानीका सञ्चालक प्रितम पुर्जाले करिब एक महिनापछि पर्यटकको आवागमन सुरु भएको बताए। भुरुङ–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दु पनि हो। विपद्बाट सुरक्षित रहेको यो पदमार्गमा पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
स्थानीय होटल व्यवसायी काजी थापाका अनुसार बिहीबार मात्रै करिब १५० जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर भ्रमणमा गएका थिए।
रुप्से झरना क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएकी छुमा पाइजाले करिब एक महिनापछि पर्यटकको चहलपहल देखिन थालेको बताइन्।
दसैँको बिदा मनाउन चितवनबाट मुस्ताङ आएका रमेश पाण्डेले म्याग्दी हुँदै मुस्ताङसम्म बस, जिप र मोटरसाइकललगायत सवारीसाधनबाट यात्रा गर्न सहज भएको बताए।
बाढीपहिरोले क्षति पुर्याएका सडक तथा पदमार्गको मर्मतसँगै दीर्घकालीन पुनर्निर्माणलाई तीव्रता दिन सके म्याग्दी र मुस्ताङको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले पर्यटकीय यामलाई ध्यानमा राख्दै सडक मर्मत गरेर सवारीसाधन सहज रूपमा सञ्चालन हुने वातावरण बनाउन काम भइरहेको जानकारी दिए।
सडक सम्पर्क सहज बन्दै जाँदा म्याग्दीका पर्यटकीय स्थलमा पर्यटकको आगमन थप बढ्ने र विपद्बाट प्रभावित स्थानीय व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।