अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो, असोजमा ३२ हजारभन्दा बढी विदेशीले गरे भ्रमण
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो, असोजमा ३२ हजारभन्दा बढी विदेशीले गरे भ्रमण
    • बेल संचार

    • ११ कार्तिक २०८३, मंगलवार

कास्की ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन बढेको छ। गत असोज महिनामा मात्रै ३२ हजार ९६३ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार भ्रमण गर्ने पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ जना र अन्य देशका २० हजार ३१८ जना रहेका छन्।

गत वर्षको असोजको तुलनामा यस वर्ष पर्यटक आगमनमा २ हजार ४१६ जनाले वृद्धि भएको छ। गत वर्ष सोही अवधिमा ३० हजार ५४७ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए।

चालु आर्थिक वर्षमा अहिलेसम्म सबैभन्दा बढी विदेशी पर्यटक असोज महिनामा आएका हुन्। यसअघि साउनमा २६ हजार ५९१ र भदौमा १७ हजार ९१३ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए। असोज र कात्तिक पदयात्राका लागि अनुकूल मौसम हुने भएकाले यी महिनामा पर्यटकको चाप बढ्ने गरेको आयोजना प्रमुख कडरियाले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका विभिन्न पदमार्ग र पर्यटकीय गन्तव्यमा शरद ऋतुमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने गरेको छ। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र म्याग्दीको घोडेपानीलगायत स्थानमा यो याममा पर्यटकको चहलपहल बढ्ने गरेको छ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरेको छ। सडकमार्गबाट अन्नपूर्ण क्षेत्र पुग्ने आन्तरिक पर्यटकको संख्या भने यस तथ्याङ्कमा समेटिँदैन।

दसैँ र तिहारको बीचको समयमा धेरै पर्यटक पदयात्रामा निस्कने गरेको आयोजना प्रमुख कडरियाले बताए। प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन र स्थानीय संस्कृतिले अन्नपूर्ण क्षेत्रलाई पदयात्रा प्रेमीहरूको आकर्षक गन्तव्य बनाएको छ।

करिब ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रले कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका १५ स्थानीय तहका ८७ वडा समेटेको छ।

यस क्षेत्रमा विभिन्न स्थानबाट छोटो, मध्यम तथा लामो दूरीका पदयात्रा गर्न सकिन्छ। पर्यटकीय गन्तव्य, स्थानीय आतिथ्यता, पूर्वाधार र उपलब्ध सेवासुविधाका कारण अन्नपूर्ण चक्रीय पदमार्ग स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ।

साताकाे चर्चित
सम्बन्धित