भोटेकोशी बाढीमा बेपत्ता आफन्तको पर्खाइमै बित्यो दसैँ, डीएनए रिपोर्ट अझै प्रतीक्षामा
भोटेकोशी बाढीमा बेपत्ता आफन्तको पर्खाइमै बित्यो दसैँ, डीएनए रिपोर्ट अझै प्रतीक्षामा
    • बेल संचार

    • ११ कार्तिक २०८३, मंगलवार

बाँके ।

भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको अवस्था पत्ता नलाग्दा बाँकेका प्रभावित परिवारले यस वर्षको दसैँ पीडा र अनिश्चितताबीच बिताएका छन्। बाढीमा हराएका आफन्तको शवसमेत फेला नपरेपछि उनीहरू डीएनए परीक्षणको नतिजा पर्खिरहेका छन्। आफन्त जीवित छन् वा छैनन् भन्ने यकिन जानकारी नहुँदा परिवारका सदस्यलाई सामाजिक संस्कार पूरा गर्नसमेत कठिन भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–२०, थपुवाका अनलाल रोकायका लागि यस वर्षको दसैँ विछोड र प्रतीक्षामै बित्यो। भदौ १० गतेको भोटेकोशी बाढीमा उनका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र १९ वर्षीय भतिज दीपक रोकाय बेपत्ता भएका थिए। रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा कार्यरत दाजु–भाउजुलाई भेट्न र गोसाइँकुण्ड दर्शन गर्न पुगेका दीपक पनि बाढीमा हराएका थिए।

घटना भएको दुई महिना बितिसक्दा पनि तीनै जनाको अवस्था पत्ता लाग्न नसकेको अनलालले बताए। बुढेसकालको सहारा मानिएका दाजु–भाउजु र एक्लो छोरा एकैपटक बेपत्ता भएपछि परिवारमा गहिरो शोक छाएको छ।

“बाढीमा हराएका हाम्रा मान्छेको अहिलेसम्म अत्तोपत्तो छैन। यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खँदै बिताउन बाध्य भयौँ,” अनलालले दुःख व्यक्त गरे।

उनका अनुसार आफन्त फर्किएर आउने आशा कमजोर हुँदै गए पनि शव पहिचान हुने र वास्तविक अवस्था थाहा पाउने अपेक्षामा परिवारले डीएनए परीक्षणको नतिजा कुरिरहेको छ। शव वा आधिकारिक जानकारी केही नहुँदा मृत्यु संस्कारलगायत सामाजिक परम्परा कसरी पूरा गर्ने भन्ने अन्योलसमेत रहेको उनले बताए।

अनलालले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिएका छन्। परीक्षणको नतिजा र बेपत्ता व्यक्तिको अवस्थाबारे सरकारले परिवारलाई स्पष्ट जानकारी दिनुपर्ने उनको माग छ। आधिकारिक रूपमा अवस्था पुष्टि भएपछि मात्रै सामाजिक संस्कार अघि बढाउने सोचमा रहेको उनले बताए।

भोटेकोशी बाढीमा बेपत्ता भएका अन्य परिवारको अवस्था पनि उस्तै छ। रोजगारीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं बाढीपछि बेपत्ता भएपछि उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा छन्।

आफ्ना अभिभावकको कुनै खबर नपाउँदा बालबालिकाले दिनहुँ प्रतीक्षा गर्नुपरेको छ। सुभासले पनि डीएनए परीक्षणको नतिजा पर्खिरहेको बताएका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ता परिवारलाई सान्त्वना दिँदै आवश्यक सहयोगका लागि समन्वय भइरहेको जानकारी दिए। विशेषगरी अभिभावकविहीन अवस्थामा पुगेका बालबालिकाको पालनपोषण र शिक्षाका लागि सहयोग जुटाउने प्रयास भइरहेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक प्रतीतसिंह राठौरका अनुसार भोटेकोशी बाढीमा बेपत्ता आफन्तको पहिचानका लागि नेपालगञ्जको भेरी अस्पतालमा १६ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ। अन्य केही आफन्तले काठमाडौँ र चितवनस्थित अस्पतालमा नमुना दिएका छन्।

सङ्कलन गरिएका नमुना नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको उनले जानकारी दिए। बेपत्ता व्यक्तिको पहिचान गर्न उनीहरूका नजिकका नातेदार—बाबु, आमा, छोरा वा छोरी—को रगतको नमुना सङ्कलन गरिएको हो।

डीएनए परीक्षणबाट शवको पहिचान गर्न सकिने अपेक्षामा परिवारहरू नतिजाको प्रतीक्षामा छन्। तर, रिपोर्ट नआउँदासम्म आफन्तको अवस्था पुष्टि हुन नसक्दा उनीहरूको पीडा र अन्योल कायमै छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भोटेकोशी बाढीपछि जिल्लाका २३ जना अझै बेपत्ता छन्। तीन जनाको शव पहिचान भई मृत्यु पुष्टि भएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।

बेपत्ता व्यक्तिका परिवारका लागि डीएनए परीक्षणको नतिजा केवल पहिचानको विषय मात्र बनेको छैन, आफन्तको वास्तविक अवस्था थाहा पाउने र सामाजिक संस्कार पूरा गर्ने आधारसमेत बनेको छ। त्यसैले उनीहरूले खोजी कार्यलाई निरन्तरता दिन र परीक्षणको नतिजा तथा आधिकारिक जानकारी यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित