इलाममा अकबरे खुर्सानीमा रोगको प्रकोप, उत्पादनको मुखमै बोट मर्न थालेपछि किसान चिन्तित
इलाममा अकबरे खुर्सानीमा रोगको प्रकोप, उत्पादनको मुखमै बोट मर्न थालेपछि किसान चिन्तित
    • बेल संचार

    • १६ कार्तिक २०८३, आईतवार

इलाम ।

उत्पादन र आम्दानी बढाउने आशासहित अकबरे खुर्सानी खेती विस्तार गरेका इलामका किसान अहिले बालीमा देखिएको रोगको समस्याले चिन्तित बनेका छन्। फल लाग्ने र टिप्ने समयमै बोट पहेँलिने, हाँगा सुक्ने तथा फल डढेर कुहिने समस्या देखिएपछि किसानको लगानी जोखिममा परेको छ।

माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईको बगानमा पनि यस्तो समस्या देखिएको छ। उनका अनुसार अकबरे खुर्सानीमा फल लाग्न थालेपछि पात पहेँलिने, हाँगा सुक्ने र क्रमशः पूरै बोट मर्ने समस्या बढेको हो। सुरुमा राम्ररी हुर्किएका बोट उत्पादन दिने समयमा सुक्न थालेपछि अपेक्षित आम्दानी गुम्ने चिन्ता उनलाई छ।

राईले विगत दुई वर्षदेखि व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै आएका छन्। गत वर्ष खुर्सानी बिक्रीबाट तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेका उनले यस वर्ष उत्पादन बढाउने उद्देश्यले खेती विस्तार गरेका थिए। दुई रोपनी क्षेत्रफलमा एक हजार ८०० बिरुवा रोपेका उनको बगानमा अधिकांश बोट मर्न थालेका छन्।

फल लागेपछि खुर्सानीको आधा भाग डढ्ने, कालो हुने र कुहिने समस्या देखिएको राईले बताए। उत्पादन बढाउने लक्ष्यसहित गरेको लगानी नै जोखिममा परेपछि आफू निराश भएको उनको भनाइ छ।

प्रदीपजस्तै अन्य किसानले पनि अकबरे खुर्सानीमा यस्तै समस्या भोगिरहेका छन्। अर्का किसान जीवन राईका अनुसार फलमा डढुवा लाग्ने, कीरा पर्ने, बोट पहेँलिने र कुहिने समस्या देखिएको छ। उनले अन्नबाली लगाउँदै आएको जमिनमा दुई हजार अकबरेका बोट रोपेका थिए। तर फल लाग्ने समयमा रोगको समस्या फैलिएपछि अधिकांश बोट नष्ट भएको उनले बताए।

अर्की किसान कल्पना राईले पनि खुर्सानी पाक्ने र टिप्ने समयमै बोट सुक्ने, फलमा डढुवा लाग्ने तथा कीरा पर्ने समस्या बढेको बताइन्। उनका अनुसार रोग देखिएको एक महिनाभित्रै बारीका खुर्सानीका बोट नष्ट भएका थिए। लगानी र वर्षभरको मिहिनेत खेर गएपछि उनले अहिले अन्य बाली लगाउन थालेकी छन्।

इलाममा उत्पादित अकबरे खुर्सानी स्थानीय बजारका साथै झापाको दमकसम्म बिक्रीका लागि पुग्ने गरेको छ। स्थानीय व्यापारीले किसानको बगानबाटै प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्ममा खुर्सानी खरिद गर्ने गरेका छन्।

परम्परागत खाद्यान्न बालीको विकल्प खोजिरहेका इलामका किसान पछिल्लो समय अकबरे खुर्सानी खेतीतर्फ आकर्षित हुँदै आएका छन्। नगदे बालीका रूपमा राम्रो आम्दानीको सम्भावना देखिएपछि यसको व्यावसायिक खेती विस्तार भइरहेको छ। तर उत्पादनको मुख्य समयमा देखिएको रोगको समस्याले किसानको आम्दानी र आगामी खेती योजनामै असर पार्ने चिन्ता बढाएको छ।

साताकाे चर्चित
सम्बन्धित