पश्चिम राप्ती नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण हुँदै
पश्चिम राप्ती नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण हुँदै
    • बेल संचार

    • १७ कार्तिक २०८३, सोमबार

दाङ ।

देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा नदी व्यवस्थापनलाई दिगो र व्यवस्थित बनाउने उद्देश्यले लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माणको काम अघि बढाएको छ।

पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा भू-उपयोगको स्वरूप परिवर्तन, बढ्दो विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनका कारण नदीको बहावमा देखिएका प्रभावलाई ध्यानमा राखेर अध्ययन सुरु गरिएको हो। यसबाट बाढीको जोखिम घटाउनुका साथै नदी आसपास निर्माण हुने पूर्वाधारलाई दीर्घकालीन र जलवायुमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पश्चिम राप्ती नदीको सतबरिया क्षेत्रसम्मको करिब ४२ किलोमिटर खण्डमा नदीको बहाव क्षेत्र निर्धारण तथा अध्ययन सम्पन्न भएको छ।

उनले नौमुरे बाँध निर्माणपछि पश्चिम राप्ती नदीमा सुक्खायाममा हुन सक्ने पानीको अभाव र वर्षायाममा आउने बाढी व्यवस्थापनका लागि उक्त अध्ययन उपयोगी हुने बताए।

अध्ययनले नदी नियन्त्रणका संरचना, पुल तथा अन्य जलसम्बन्धी पूर्वाधारको डिजाइनमा एकरूपता कायम गर्न सहयोग गर्ने आयोजनाको अपेक्षा छ। यसले सुरक्षित, दिगो र जलवायु परिवर्तनका प्रभावलाई ध्यानमा राखेर संरचना निर्माण गर्न आधार तयार गर्नेछ।

यसैबीच, नदी नियन्त्रणका लागि हालसम्म निर्माण भएका संरचनाको अभिलेख राख्न र आगामी योजना व्यवस्थित बनाउन आयोजनाले वेबमा आधारित सम्पत्ति व्यवस्थापन प्रणाली पनि तयार पारेको छ।

उक्त प्रणालीमा निर्माण भइसकेका संरचनाको डिजिटल विवरण, तिनबाट समुदायले प्राप्त गरेको लाभ, थप आवश्यक संरचना, अनुमानित लागत तथा अपेक्षित प्रतिफल समेटिनेछ। यसका आधारमा प्राथमिकतासहितको गतिशील गुरुयोजना तयार गरी नदी व्यवस्थापनका आगामी कामलाई पारदर्शी र योजनाबद्ध बनाउने लक्ष्य राखिएको छ।

साताकाे चर्चित
सम्बन्धित