डोल्पाको दानिगढमा हिमपातले फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार
डोल्पाको दानिगढमा हिमपातले फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार
    • बेल संचार

    • १७ कार्तिक २०८३, सोमबार

सुर्खेत ।

डोल्पाको दानिगढ क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उनीहरूलाई सोमबार बिहान दुई चरणमा उद्धार गरी हुम्लाको सिमिकोट पुर्‍याइएको हो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उद्धार गरिएका सबै पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढ क्षेत्रमा उनीहरू फसेका थिए। आइतबार नै उद्धार गर्ने तयारी गरिए पनि हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि अभियान सफल हुन सकेको थिएन।

सुरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने योजना बनाइएको थियो। तर उडानका क्रममा प्राविधिक समस्या आएपछि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएको थियो। आइतबार साँझ साढे ४ बजे पुनः प्राविधिक समस्या देखिएपछि उद्धार कार्य स्थगित भएको थियो।

सोमबार बिहान ६ बजे हेलिकप्टर उडाएर उद्धार अभियान पुनः सुरु गरिएको थियो। दुई उडानमार्फत सबै पर्यटकलाई सुरक्षित रूपमा सिमिकोट ल्याइएको हो।

उद्धार गरिएका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना विश्वास र राजेश दे रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित