दुई नेपाली खेलाडीको अर्धशतक, विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य
दुई नेपाली खेलाडीको अर्धशतक, विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य
    • बेल संचार

    • १८ कार्तिक २०८३, मंगलवार

काठमाडौं ।

इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु १७५ रनको चुनौती प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनायो।

विराटनगरको इनिङमा इमरान शेखले ५६, लोकेश बमले ५० तथा आन्द्रे रसेलले अविजित ५२ रनको योगदान दिए।

यस खेलसँगै एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको पहिलो कीर्तिमान बनेको छ।

इमरानले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए। त्यस्तै, लोकेशले ४० बलको सामना गर्दै समान ३ चौका र ३ छक्कासहित ५० रन जोडे।

ओपनर शान जयासूर्या व्यक्तिगत २ रनमै आउट भएपछि क्रिजमा आएका इमरानले लोकेशसँग मिलेर उत्कृष्ट साझेदारी गरे। दोस्रो विकेटका लागि यी दुईले १०७ रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। जारी सिजनमा बनेको यो पहिलो शतकीय साझेदारी हो।

अन्तिमतिर आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै विराटनगरको स्कोर उकासे। उनले केवल २९ बलमा २ चौका र ५ छक्काको मद्दतले अविजित ५२ रन बनाए। शुभम रञ्जाने ७ रनमा नटआउट रहे।

जनकपुरका बलरमध्ये अभिषेक तिवारीले सर्वाधिक २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे।

अब जनकपुरले जितका लागि १७५ रन बनाउनुपर्नेछ।

साताकाे चर्चित
सम्बन्धित