बाँके ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष स्थानीय किसानबाट गाउँमै १० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ।
किसानले उत्पादन गरेका विभिन्न जातका धानलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यसहित खरिद प्रक्रिया सुरु गरिएको सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले जानकारी दिए।
वलीका अनुसार सहकारीले धानको जातअनुसार मूल्य निर्धारण गरेको छ। मसिनो धान प्रतिक्विन्टल ३ हजार २०० रुपैयाँ, राधा–४ मोटो धान २ हजार ८५० रुपैयाँ र जुनसुकै जातको हाइब्रिड धान २ हजार ७५० रुपैयाँमा खरिद गरिनेछ। धान बिक्री गर्न चाहने किसानले उत्पादन सहकारीको गोदाम वा सङ्कलन केन्द्रमा पुर्याउनुपर्नेछ।
गाउँमै धान खरिद गर्ने यो योजनाले राप्ती सोनारी क्षेत्रका किसानलाई उत्पादन बिक्री गर्न सहज बनाउनुका साथै उनीहरूको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको वलीले बताए।
राप्ती सोनारी–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको सहकारीमा आठ हजारभन्दा बढी किसान सदस्य छन्। किसानबाट खरिद गरिएको धान राप्ती सोनारी–५ बिनौनास्थित सहकारीको गोदाममा भण्डारण गरिने संस्थाका अध्यक्ष हुमाशङ्कर वलीले जानकारी दिए।
सहकारीले धान खरिदसँगै किसानलाई बीउ उत्पादनमा पनि प्रोत्साहन गर्दै आएको छ। किसानले उत्पादन गरेको बीउ धानसमेत संस्थाले खरिद गर्ने गरेको अध्यक्ष वलीले बताए।
किसानको उत्पादनको प्रशोधन र बजारीकरणलाई सहज बनाउने उद्देश्यले सहकारीले ५५ लाख रुपैयाँ लगानीमा यस वर्षदेखि अत्याधुनिक ‘सिल्की चामल मिल’ सञ्चालनमा ल्याएको छ। मिल सञ्चालन भएपछि स्थानीय किसानले उत्पादन गरेको धान सहकारीमार्फत बिक्री गर्न र गाउँमै कुटानी–पिसानी सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमै कृषि उपजको प्रशोधन र बजार व्यवस्थापनको सुविधा उपलब्ध हुँदा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सहयोग पुग्ने सहकारीको विश्वास छ।
यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँके जिल्लामा धान खरिदका लागि १० हजार क्विन्टलको मात्रै कोटा निर्धारण गरेको छ। यस्तो अवस्थामा सहकारीले गाउँमै धान खरिद गर्ने पहलले किसानलाई थप राहत पुग्ने किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताएका छन्।