आईजीपी हटाउने निर्णयमा पार्टीको हस्तक्षेप छैन : रास्वपा प्रवक्ता खरेल
आईजीपी हटाउने निर्णयमा पार्टीको हस्तक्षेप छैन : रास्वपा प्रवक्ता खरेल
    • बेल संचार

    • १९ कार्तिक २०८३, बुधबार

काठमाडौं, १८ कात्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णयमा पार्टीको कुनै निर्देशन वा हस्तक्षेप नरहेको बताएका छन्।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पार्टीको निर्देशनपछि कार्कीको जिम्मेवारी परिवर्तन गरिएको बताएका थिए। त्यसपछि रास्वपा प्रवक्ता खरेलले पार्टीले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन्।

अनलाइनखबरसँगको कुराकानीमा खरेलले पार्टीले प्रधानमन्त्रीलाई सरकार सञ्चालनमा सहयोग गर्ने भए पनि कुनै व्यक्तिलाई पदमा राख्न वा हटाउन निर्देशन नदिने बताए।

“सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्छ। कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने काम पार्टीले गर्दैन,” उनले भने।

कार्कीको जिम्मेवारी परिवर्तनबारे पार्टीको धारणा सोध्दा खरेलले कुनै व्यक्तिलाई हटाउन वा नियुक्त गर्न पार्टीले निर्देशन नदिएको र यस विषयमा पार्टीको भूमिका नरहेको दोहोर्‍याए।

केही दिनअघि समाचार सामग्रीसँग सम्बन्धित विषयमा पत्रकारहरू पक्राउ परेको घटनाबारे भने सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनले बताए। उक्त घटनामा पक्राउ गर्ने व्यक्ति र आदेश दिनेहरूमाथि कारबाही हुनुपर्ने पार्टीको भनाइ रहेको उनको दाबी थियो।

कार्कीलाई हटाउने निर्णयलाई सरकारले कारबाही नभई जिम्मेवारी हेरफेर भनेको उल्लेख गर्दै खरेलले पत्रकार पक्राउ प्रकरणसँग जोडेर कारबाही गरिएको हो भने सरकारले त्यसबारे स्पष्ट जानकारी दिनुपर्ने बताए।

यस विषयमा सरकारकै तर्फबाट थप प्रस्ट पारिनुपर्ने उनको भनाइ छ।

साताकाे चर्चित
सम्बन्धित