पोखरा ।
पर्यटकीय मौसम सुरु भएसँगै कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चहलपहल बढेको छ। पछिल्लो छ दिनमा मात्रै तीन हजार १४६ जना पर्यटकले सिक्लेसको भ्रमण गरेका छन्।
वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख अर्थात् कात्तिक १५ देखि २० गतेसम्म उक्त संख्यामा पर्यटक सिक्लेस पुगेका हुन्। यस अवधिमा दैनिक औसत ५२४ जना पर्यटक गाउँ भित्रिएको उनले जानकारी दिए।
पर्यटक आगमनको विवरणअनुसार कात्तिक १८ गते सबैभन्दा धेरै ७१९ जना सिक्लेस पुगेका थिए। त्यस्तै, कात्तिक १५ गते सबैभन्दा कम २५४ जना पर्यटकले गाउँको भ्रमण गरेका थिए।
सिक्लेस पुग्ने अधिकांश पर्यटक गाउँमा केही समय बिताएपछि चर्चित पर्यटकीय गन्तव्य कोरी र हिमनदी ताल कपुचे क्षेत्रतर्फ पदयात्रामा जाने गरेको वडाध्यक्ष गुरुङले बताए।
पर्यटकको बढ्दो आगमनले गाउँका होटल तथा होमस्टे व्यवसायीमा उत्साह थपिएको छ। पोखराबाट करिब ३८ किलोमिटर दूरीमा रहेको सिक्लेस गुरुङ समुदायको बाहुल्यता भएको सुन्दर पर्यटकीय गाउँ हो। यहाँ करिब ४०० घरधुरी रहेका छन्।