काठमाडौं ।
कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आगामी मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन्। प्रतियोगिताको प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार प्रारम्भिक चरणमा ६ खेलका प्रतिस्पर्धा सुरु गरिनेछ।
मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा सञ्चालन हुनेछन्।
कुल ३२ खेल समावेश गरिएको प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा आयोजना हुनेछन्। निर्धारित तालिकाअनुसार २३ खेल सुर्खेतमा हुनेछन्। तीमध्ये एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्ट्स र सेपाकताक्रो रहेका छन्।
अन्य खेलका लागि पनि विभिन्न जिल्लामा स्थान निर्धारण गरिएको छ। टेनिस र खोखो बर्दियामा, जुडो तथा कुस्ती सल्यानमा, शारीरिक सुगठन पश्चिम रुकुममा, आईटीएफ तेक्वान्दो दैलेखमा र बुद्धिचाल कालिकोटमा सञ्चालन हुनेछन्। त्यस्तै, पौडी र सुटिङका खेल नेपालगञ्जमा आयोजना गर्ने तयारी छ।
खेल तालिकाअनुसार कर्णाली प्रदेशका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने कुनै पनि खेल समावेश गरिएको छैन।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ। प्रतियोगिताको समापन समारोह मंसिर २७ गते आयोजना गर्ने तय भएको छ।