गोकुल बास्कोटाको निवासमा भरतमणि पुग्दा…
गोकुल बास्कोटाको निवासमा भरतमणि पुग्दा…
    • Bell Sanchar

    • २१ आश्विन २०७८, बिहीबार

काठमाडौं । कमेडी च्याम्पियनमा भरतमणि पौडेलले गरेको पूर्वमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर अत्यधिक चर्चित भयो । बास्कोटा स्वयम्ले भरतमणिको क्यारिकेचर मन पराएर उनलाई फोन गरेका थिए । आज भने उनीहरुको पहिलोपटक प्रत्यक्ष भेट भएको छ ।

भरतमणिले भक्तपुरस्थित बास्कोटाको निवासमै पुगेर बास्कोटालाई भेटेका हुन् । आफैंले फोन गरेर समय मागेर भेटेको भरतमणिले बताए ।

‘उहाँको धेरै क्यारिकेचर गरेँ, त्यसैले मलाई उहाँसँग भेट्न मन लागिरहेको थियो,’ भरतमणिले भने, ‘सहजै समय दिनुभयो र घरमै पुगेर भेटेको हुँ ।’

भेटका क्रममा बास्कोटाले भरतमणिको क्यारिकेचरलाई लिएर आफ्नै शैलीमा टिप्पणी गरेका थिए ।

‘मलाई राष्ट्रियरूपमा उडाउनी ?’ बास्कोटाले भने ।

भरतमणिले जवाफ दिए, ‘जोकमा अलिअलि नउडाइ हुन्न हजुर । नत्र मान्छे हाँस्दैनन् ।’

बास्कोटाले फिस्स हाँस्दै भने, ‘केको अलिअलि हुन्थ्यो, धेरैले उडाउनुभो ।’

भरतमणिले आग्रह गरे, ‘जे होस् नेगेटिभ नलिइदिनुहोला ।’

बास्कोटाले भने, ‘नेगेटिभरुपमा लिएर गर्नु के र ?’

भरतमणिले जिज्ञासा राखे, ‘समग्रमा मेरो कमेडी हजुरलाई कस्तो लाग्छ ?’

गोकुलले जवाफ दिए, ‘झटारो त राम्रैसँग हान्नुहुन्छ नि ।’

बास्कोटाले नै आफूमाथि लागेको आरोपको प्रसंग पनि निकालेका थिए ।

‘मलाई ७० करोड खायो भन्छन्, यी घर त यति साँघुरो छ देखिहाल्नुभो,’ उनले भने ।

‘आरोप त लगाइरहेका छन्, अब के हुन्छ हजुर ?’ भरतमणिले जिज्ञासा राखे ।

‘भ्रष्टाचार गरेको भए छानविन होस् भनेर मैले सँधै भनिरहेकै छु नि,’ बास्कोटाले जवाफ दिए ।

बास्कोटाको घरमा करिब १५ मिनेट बिताएका भरतमणि कालो चिया पिएर निस्किए ।

जाने बेलामा उनले भने, ‘हामी कमेडीयनले उडाउने मसला नपाउने गरी काम गर्नुपर्‍यो है हजुर ।’

साताकाे चर्चित
सम्बन्धित