जीतु नेपालले किन बन्द गरे ‘मुन्द्रेको कमेडी क्लब’
जीतु नेपालले किन बन्द गरे ‘मुन्द्रेको कमेडी क्लब’
    • Bell Sanchar

    • २३ कार्तिक २०७८, मंगलवार

काठमाडौँ — हास्यव्यंग्य सम्बन्धी टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । शो का प्रस्तोता एवं हास्यकलाकार जीतु नेपाल ‘मुन्द्रे’ले १ सय ३२ भाग प्रशारणसँगै कार्यक्रम बन्द हुने घोषणा गरेका छन् । शो लाई निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ले फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाई अर्को टेलिभिजन शो घोषणा गरेपछि आफूले ‘मुन्द्रेको कमेडी क्लब’लाई बन्द गर्ने निर्णय लिएको उनी बताउँछन् ।

‘म जुन कम्पनीसँग आबद्ध छु त्यो कम्पनीले अचानक फूलन्देकी आमालाई लिएर अर्को टेलिभिजन शो गर्ने घोषणा गर्दा म त छक्क परें । सुरुमा त पत्याइनँ । तर भाइले उक्त कार्यक्रममा सम्झौता गरिसकेको बतायो । उसले मलाई कुनै धोका दिएको होइन । त्यो त उसको अधिकारको कुरा हो,’ काठमाडौंमा पत्रकारहरूसँगको भेटघाटमा जीतुले भने, ‘उसले मसँग सम्झौता गरेको थिएन । शशीजीसँग कुरा राखें । उहाँले ‘उमेशले उतै कार्यक्रम चलाउँछ, तपाईं मिलाउनुस् भन्नुहुँदा मनमा केही चित्त दुख्यो । फूलन्देकी आमाबिना कार्यक्रम गर्नै नसकिने भन्ने होइन । तर मैले राम्रो गरिरहेको छु । रोइकराइ, रातभरी नसुती एपिसोड गरिरहेको छु, विज्ञापन आइरहेका छन् । तर मेरो तारिफ पाउनुको सट्टा टिममै खटपट देखिएपछि मैले ब्रेक लिने सोचें ।’

आफूले यो घटनाबाट विश्वासमा नभई सम्झौतामा काम गर्नुपर्ने पाठ सिकेको जीतुले बताए । ‘मुन्द्रेको कमेडी क्लब’ले ५०/६० जनालाई रोजगारी दिएकोसमेत उनको भनाइ छ । ‘मुन्द्रेको कमेडी क्लब’को पहिलो सिजन ७६ भागसम्म प्रशारणमा आएको थियो । कार्यक्रमको अध्यक्षको रुपमा अभिनेत्री एवं निर्देशक दीपा श्री निरौलाले साथ दिएकी थिइन् । कोभिडका कारण बीचमा कार्यक्रम रोकियो । जीतुले दोस्रो सिजन ५६ भागसम्म प्रशारणमा आयो । दोस्रो सिजनकी अध्यक्षमा भने करिश्मा मानन्धर थिइन् ।

‘मैले जानीनजानी धेरै दु:ख गरेर करिब २ वर्षअगाडि मुन्द्रेको कमेडी क्लब ल्याएको थिएँ । दर्शकले रुचाइदिनु भयो । ११ वर्ष मैले मेरी बास्सैमा मुन्द्रा हल्लाउँदै अभिनय गरें । यस किसिमको कार्यक्रम गर्ने रहर थियो मेरो । कतिपटक हतारमा कार्यक्रम रेकर्ड गर्नुपर्‍यो । बीचमा स्क्रिप्ट लेखेर अगाडि बढ्ने सोच्यौं । तर पछि बुँदाहरू टिप्दै कार्यक्रम रेकर्ड गर्‍यौं,’ जीतुले भने, ‘हरेक फुटबल खेलाडीले गोल नै गर्छ भन्ने हुँदैन । तर उत्कृष्ट खेल खेलेकै हुन्छन् । दु:ख गरेर कार्यक्रमलाई अगाडि लगें । गोल भो भएन थाहा भएन । तर मैले राम्रै खेल खेलें भन्ने लाग्छ ।’

कार्यक्रमको सुरुआती दिनमा नकारात्मक कमेन्टले आफू रोएकोसमेत उनले सुनाए । ‘कति समय म रोएँ पनि । कार्यक्रम सुरु भएको २ रात निन्द्रै लागेन। मैले अपराध नै गरेछु कि भन्ने लागेको थियो,’ उनले सुनाए । त्यसयता आफूले कमेन्टतर्फ ध्यान नदिएको जीतुको अनुभव छ ।

अभिनेत्री एवं क्लबकी अध्यक्ष करिश्माले कार्यक्रम यसरी बन्द हुनु राम्रो नभएको बताइन् । ‘सुरुमा त मलाई जीतुको कार्यक्रममा सुट हुन्छ कि हुँदिन भन्ने लागेको थियो । तर जीतुले भनेपछि म क्लबको अध्यक्षमा सहभागी भएँ । कति सिमिततामा कार्यक्रम गर्नुपर्थ्यो । महामारीमा अतिथि बोलाउन पनि सहज थिएन । कपी कार्यक्रम भन्दै आरोप आए,’ करिश्माले भनिन्, ‘बजेटको सिमिततामा काम गर्न गाह्रो थियो । तर कार्यक्रमका लागि जीतुले कसरी यति धेरै दु:ख गरिरहेको जस्तो लाग्थ्यो । जीतुले मिहेनत गरेको यो कार्यक्रम यसरी रोकिनु राम्रो हो जस्तो लाग्दैन । कुनै पनि कुरा बन्द हुनु राम्रो त होइन ।’

साताकाे चर्चित
सम्बन्धित