मधेसबाट पन्छिदै प्रमुख दलहरु, प्रदेश २ को नाम र राजधानीमा दलहरु अझै विभाजित
मधेसबाट पन्छिदै प्रमुख दलहरु, प्रदेश २ को नाम र राजधानीमा दलहरु अझै विभाजित
    • Bell Sanchar

    • २४ पुष २०७८, शनिबार

प्रदेश २ को नाम र राजधानीको विषयमा सत्तारुढ दलबीच नै बेमेल सुरु भएको छ ।

प्रदेशको नाम र राजधानीका दलीय सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वको विशेष समितिको बैठकमा सत्तारुढ दलहरू जनता समाजवादी (जसपा), कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच नै  मतान्तर सुरु भएको छ ।

प्रदेशको नामाकरणको विषयमा ती दलहरूको फरक फरक प्रस्ताव दर्ता भए पनि विशेष समितिमा दलीय सहमति हुने सम्भावना प्रबल रहेको थियो । तर समितिको बैठकमा कांग्रेसले आफ्नो प्रस्ताव छाडेर नेकपा एस र एमालेले गरेको जानकी प्रदेशमा सहमत हुने संकेत देखाएपछि सरकारको नेतृत्व गर्ने जसपा र सत्तारुढ दल माओवादी केन्द्रले गरेको मधेस प्रदेशको प्रस्तावमा सत्तारुढ दलहरू दुई कित्तामा विभाजन हुने अवस्थामा पुगेको छ ।

अहिले प्रदेशका सरकारको केन्द्रीय गठबन्धन जस्तै जसपा, कांग्रेस, माओवादी र एकीकृत समाजवादी रहेको छ । मधेस प्रदेशमा जसपा र माओवादी केन्द्र सुरुदेखि नै एकै ठाउँमा छ भने कांग्रेसले मिथिला भोजपुरा र एकीकृत समाजवादीले जनक प्रदेश प्रस्ताव गरेको थियो । कांग्रेसले आफ्नो मिथिला भोजपुरालाई छाडेर एमालेले प्रस्ताव गरेको जानकी प्रदेश सहमत हुने संकेत गरेको छ ।

एकीकृत समाजवादीले पनि आफ्नो प्रस्ताव छाडेर जानकी प्रदेशमै सहमति गरिसकेको छ । यस्तोमा सत्तारुढ चार दल दुई÷दुई कितामा विभाजन देखिएका छन् । दुई सत्तारुढ दल कांग्रेस र नेकपा एसले विपक्षी दल एमालेको प्रस्तावमा सहमति जनाएको छ । दुई सत्तारुढ दल जसपा र माओवादी केन्द्रको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोसपाले पनि समर्थन गरेको छ ।

बैठकमा कांग्रेस सांसद राजेशप्रसाद साहले मध्य मधेस प्रदेशमा कांग्रेस स्वीकार गर्ने पक्षमा नरहेको बताउनुभयो । मधेस र मध्य मधेस प्रदेश एकैनासको रहेकाले त्यसमा सहमत हुने अवस्था नरहेको कांग्रेसका एक सांसदले बताए ।

प्रदेशको नाम र राजधानी नतोकिए त्यसको अपजस मधेसवादी पार्टीलाई अगामी निर्वाचनमा हुने एक नेताले बताए । जबकि एमालेका सांसद किशोरी साहले मधेस प्रदेशमा सत्तारुढ दलबीच सहमति भएमा एमालेले पनि मौन समर्थन रहने बताउँदै आएको छ ।

यता, जसपाका सांसदहरूले प्रदेश नामाकरणमा दलहरूबीच सहमति नभएमा राजधानीको विषयमा भएको सहमति पनि टुट्ने चेतावनी दिइसकेका छन् । राजधानी तोकेर प्रदेश नामाकरणको विषयलाई अलपत्र पार्न नसक्ने बताउँदै जसपाका सांसद आशोक यादवले मधेस कोटामा चुनाव जित्ने सांसदहरु नै प्रदेशको नाम मधेस राख्नमा आनाकानी गरिरहेको देख्दा आश्चर्य लागेको बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित