सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर छ : अर्थमन्त्री   
     सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर छ : अर्थमन्त्री   
    • Bell Sanchar

    • २१ भाद्र २०८०, बिहीबार

काठमाडौँ

अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उहाँले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताउनुभयो । अर्थमन्त्री डा महतले कानूनतः सबैखाले नागरिकले आफ्नो हौसियतअनुसार सेयर बजारमा लगानी गर्न छुट भएको उल्लेख गर्दै त्यस्तो लगानीलाई अनुचित मान्न नहुने स्पष्ट पार्नुभयो ।

साथै उहाँले सेयर बजारमा कुनै पनि व्यक्ति नठगिउन् र कसैले एकाधिकार गर्न नसकोस् भनेर सरकारले निगरानी गरिहेकोसमेत बताउनुभयो ।

अर्काे प्रश्नको जवाफ दिँदै उहाँले निजामती सेवा ऐनमा नै निजामती कर्मचारीले आफ्नो ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त कानून संसद्ले नै बनाएको स्पष्ट पार्नुभयो । उहाँले ट्रेड युनियन गठन भएकै कारण राजस्व कम उठेको भन्न नहुने धारणा व्यक्त गर्दै मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न काम भइरहेको जानकारी गराउनुभयो ।

साथै उहाँले कर्मचारी, शिक्षक र प्राध्यापक वर्गलाई जिम्मेवारी र उत्तरदायी बनाउने क्षेत्रगत कानून रहेको र सोहीअनुसार टे«ड युनियन गठन भएको बताउनुभयो ।

बैठकमा सांसद प्रेम सुवालले मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न गर्नुभएको थियो । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित