बैतडीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास   
बैतडीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास   
    • Bell Sanchar

    • २८ बैशाख २०८१, शुक्रबार

काठमाडौँ

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको रु तीन करोड १० लाख आर्थिक सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।

पाटन नगरपालिका प्रमुख गौरीसिंह रावल र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले आज संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभएको दूतबासले जनाएको छ ।
कार्यक्रममा नगरप्रमुख रावलले नेपालका विकास प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुरÞ्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो । उहाँले नयाँ बन्ने भवनले विद्यार्थीको गुणस्तरीय शिक्षण सिकाइमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले भवन ब्लक–ए र ब्लक–सी गरी दुई खण्डमा निर्माण हुनेछ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइनेछ भने पाटन नगरपालिकामार्फत त्यसको कार्यान्वयन गरिनेछ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका र पाँच सय ५१ भन्दा बढी परियोजना अगाडि बढाइएका छन् । यीमध्ये बैतडीमा दुईसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित