जलविद्युत् छ तर बत्ती बल्दैन   
जलविद्युत् छ तर बत्ती बल्दैन   
    • Bell Sanchar

    • ३१ बैशाख २०८१, सोमबार

बागलुङ

बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा बस्न बाध्य छन् । वर्षौंदेखि यहाँस्थित लघु जलविद्युत्को भरमा रहेका स्थानीय पछिल्लो समय खोलामा पानीको मात्रा घटेपछि अन्धकारमा बस्न बाध्य हुन् ।

पानीको बहान कम हुँदै गएपछि विद्युत् उत्पादन कम पनि घटेको बताइएको छ । यतिबेला स्थानीयलाई एउटा चिम (बल्ब) बल्न पनि मुस्किल परेको छ । साथै वडा कार्यालयबाट सेवा प्रवाहमासमेत समस्या हुँदै आएको छ । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसक्ने र बर्खामा बाढीले नहर बगाइदिँदा स्थानीय मारमा पर्दै आएका छन् ।

विद्युत् नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित बन्दै आएको तमानखोला–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो । जलविद्युत् भए पनि रातमा अन्धकारमा बस्नुपर्ने बाध्यता यहाँका स्थानीयको रहेको उहाँको भनाइ छ ।

“वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यब सबै इलेक्ट्रोनिक सामान छन् तर विद्युत् आपूर्ति नहुँदा हस्तलिखित सेवा प्रवाह गर्नु पर्ने बाध्यता छ”, वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो र छरितो बनाए पनि विद्युत्को समस्याका कारण प्रविधिदेखि टाढा हुनु परेको छ ।”

जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन नपुग्दा सयौँ नागरिकले समस्या खेप्नु परेको वडध्यक्ष छन्त्यालले बताउनुभयो । “यस वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीन वटा बस्ती छन् । तीन वटै बस्तीमा तीन वटा साना लघु जलविद्युत् छन् । तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तिसमेत बाल्न गाह्रो हुने गरेको छ”, उहाँले भन्नुभयो ।

नर्जाखानीमा ११ किलोवाटको बराहगोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाटको खालीखोला लघु जलविद्युत् आयोजना र भित्री वनमा छ किलोवाटको बराहथानखोला लघु जल विद्युत् आयोजना सञ्चालनमा रहेका वडध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । यी सबै आयोजनामा दिनभरि ट्याङ्कीमा पानी जम्मा गर्ने र बिहान बेलुका बत्ती मात्रै बाल्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

“अहिले एक घण्टा ड्याममा पानी जम्मा गर्ने, एक घण्टा विद्युत् बाल्ने गरिरहेका छौँ । यसरी काम गर्दा सेवाग्रही निकै मर्कामा परेका छन् । बर्खामा खोला उर्लेर आउँछ, नहर र ‘पावर हाउस’ बगाएन भने बत्ती बाल्ने हो नत्र अन्धकारमै बस्नुपर्छ । हिउँदमा खोला ह्वात्तै घट्ने हुँदा पानी पुग्दैन”, वडध्यक्ष छन्त्यालले भन्नुभयो, “सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने, घटना दर्ता गर्नुपर्ने हुन्छ । बिजुली नआएपछि हस्तलिखितमार्फत काम गरिरहेका छौँ । प्रविधिको विकास भए पनि केन्द्रीय प्रसारण लाइन नपुग्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।”

अति आवश्यक काम कम्प्युटरमार्फत गर्नु परे विद्युत् गृहमा फोन गरेर एक/दुई घण्टा लाइन मागेर छिटोछिटो काम गर्नुपर्ने स्थिति रहेको वडध्यक्ष छन्त्यालको भनाइ छ । यस वडामा २५० घरधुरीका करिब पन्ध्र सय जनसङ्ख्या रहेको उहाँले जानकारी दिनुभयो ।

यहाँ रहेको नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भने सोलार जडान गरिएको वडध्यक्ष छन्त्यालले बताउनुभयो । विद्युत् आपूर्ति नहुँदा विद्यालयमा रहेका कम्प्युटर र प्रोजेक्टर यतिकै थन्क्याउनु परेको उहाँको भनाइ छ । हिउँदमा बिहान एक घण्टा र बेलुकी तीन घण्टा बत्ती मात्रै बाल्न सकिने छन्त्यालले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले नर्जाखानी गाउँमा अघिल्लो वर्ष नै म्याग्दीबाट केन्द्रीय प्रसारण लाइन ल्याउने योजना बनाइएको भन्दै बजेट अभावका कारण कार्यान्वयन नभएको बताउनुभयो । यस वर्ष नर्जाखानीसहित तमानखोलाका सबै वडामा लाइन पुर्‍याउनका लागि ठेक्का आह्वान प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

आगामी असोज/कात्तिकसम्म नर्जाखानीमा केन्द्रीय लाइन पुर्‍याउने गरी काम भइरहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । “अहिले ठेक्का आह्वान प्रक्रियाको काम भइरहेको छ । अघिल्लो वर्षको बजेटले धेरै काम भए पनि नर्जाखानीसम्म केन्द्री लाइन पुर्‍याउन सकिएन”, उहाँले भन्नुभयो, “सो ठाउँमा म्याग्दीबाट ल्याउने योजना बनाइएकामा विविध कारणले कार्यान्वयन भएन । यस वर्ष बागलुङबाट लैजाने गरी काम भइरहेको छ । नयाँ ठेक्का लागेसँगै असोज÷कात्तिकसम्ममा विद्युत् पुग्छ ।”

साताकाे चर्चित
सम्बन्धित