ठमाडौं,
एमाले केन्द्रीय कमिटीको बैठक अन्तिम चरणमा प्रवेश गर्दा एकाएक विवादको नयाँ मोड देखा परेको छ। बैठक समापनका क्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण अमान्य हुने घोषणा गरेपछि माहोल तनावग्रस्त बनेको हो।
ओलीको लामो समापन मन्तव्यमा उनले भण्डारीले विगतमा नविकरण गराइसकेको पार्टी सदस्यतालाई मान्यता नदिने अडान राखेका थिए। उनले स्पष्ट शब्दमा भने, “पार्टी निर्णयबिना पूर्वराष्ट्रपतिको संगठित सदस्यता नवीकरण हुन सक्दैन। उहाँले सदस्यता त्यागिसकेको अवस्थामा नयाँ निर्णय आवश्यक पर्छ।”
उनको यस्तो धारणा सार्वजनिक हुँदैगर्दा स्थायी समिति सदस्य कर्ण थापा पूर्वराष्ट्रपतिका पक्षमा बोलेर उठेका छन् भने, अध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले कडा प्रतिवाद जनाएका छन्।
बैठकस्थलमै ओलीले भण्डारीप्रति कडा आलोचना गरेको आवाज बाहिरसम्म सुनिएको थियो। अध्यक्ष ओलीको अभिव्यक्तिले उनले पार्टीभित्र भण्डारीको बढ्दो सक्रियतालाई रोक्न र आफू तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न चाहेको संकेत देखिएको नेताहरू बताउँछन्।
एमाले संगठन विभागले दुई वर्षअघि पूर्वराष्ट्रपतिलाई नविकरण गरिएको सदस्यता ‘त्रुटिपूर्ण’ भएको भन्दै अमान्य ठहर गरिसकेको थियो। अहिले ओलीले त्यसै निर्णयलाई आधार बनाएर भण्डारीको पुनःसक्रियता रोकिने स्पष्ट सन्देश दिएका छन्।
पार्टी विधानको धारा ८ र ९ उल्लेख गर्दै ओलीले सदस्यता नवीकरण स्वचालित नहुने जिकिर गरेपछि एमाले केन्द्रीय तहमै गम्भीर बहस सुरु भएको छ।