काठमाडौँ ।
नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ जना उम्मेदवारको टुंगो लगाएको छ। पार्टीको कार्यसम्पादन समिति बैठकले विभिन्न प्रदेशबाट प्रतिनिधित्व हुने गरी उम्मेदवार छनोट गरेको हो।
निर्णयअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण उम्मेदवार बनेका छन्। त्यसैगरी बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी चयन भएका छन्। कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार रहनेछन्।
पार्टी स्रोतका अनुसार नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालसँग भएको तालमेल सहमतिअनुसार कांग्रेसका यी ९ उम्मेदवारले आजै मनोनयन दर्ता गर्ने तयारी गरेका छन्। राष्ट्रियसभा निर्वाचन नजिकिँदै जाँदा दलहरू उम्मेदवार चयनमा तीव्र देखिएका छन्।