चितवन ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन जिल्लाका तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जना उम्मेदवारको जमानत जफत भएको छ। सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार चितवन–१ मा १५ जना, चितवन–२ मा २१ जना र चितवन–३ मा २१ जना उम्मेदवारको जमानत जफत भएको हो। तीनवटै क्षेत्रमा गरी ठूलो संख्यामा उम्मेदवारले आवश्यक मत सीमा पार गर्न सकेनन्।
चितवन–१ मा कुल १८ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको हो। यस क्षेत्रमा ९६ हजार १५४ मत खसेको थियो भने ९१ हजार ८९९ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
त्यसैगरी चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ। उक्त क्षेत्रमा ८७ हजार २२१ मत खसेकोमा ८४ हजार २३२ मत सदर भएको थियो।
चितवन–३ मा भने राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा बाहेक अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले आवश्यक मत ल्याउन नसक्दा जमानत जफत भएको छ। सो क्षेत्रमा १ लाख ५३ मत खसेको थियो।
समग्र जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा २ लाख ८३ हजार ४२८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
यसैबीच, जिल्लामा समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। चितवन–२ र ३ को मतगणना सम्पन्न भइसकेको छ भने चितवन–१ को मतगणना अन्तिम अवस्थामा पुगेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन्।