काठमाडौं ।
मधेश प्रदेशका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३० क्षेत्रमा विजय हासिल गरेको छ।
एक निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भएको थियो भने अर्को एक क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमल चुनावी मैदानमा थिए। तर उनको नाम कालोसूचीमा रहेको पाइएपछि निर्वाचन आयोगले उम्मेदवारी नै खारेज गरेको थियो।
त्यस्तै रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार फिरदोश आलम विजयी भए। सो क्षेत्रमा रास्वपाका उम्मेदवार शेख सगिर तेस्रो स्थानमा रहे।
यी दुई क्षेत्रबाहेक बाँकी ३० निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विजयी भएका हुन्।
मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रमा रास्वपाका विजयी र पराजित उम्मेदवारहरूले पाएको मत जोड्दा १० लाख ६५ हजार ९७८ पुगेको छ। समानुपातिकतर्फ भने पार्टीले अझ बढी मत प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार मधेश प्रदेशबाट रास्वपाले समानुपातिकतर्फ १३ लाख ४६८ मत प्राप्त गरेको छ।