काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवार तथा राजनीतिक दललाई आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवार र समानुपातिक प्रणालीतर्फका राजनीतिक दलले निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (५) अनुसार उम्मेदवारले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिक प्रणालीतर्फका राजनीतिक दलले निर्वाचन आयोगसमक्ष तोकिएको ढाँचामा पेश गर्नुपर्ने व्यवस्था छ।
निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहेको आयोगले स्मरण गराएको छ। सो विवरण सार्वजनिक गरेको प्रमाणस्वरूप फोटो वा स्क्रिनसटसहित आवश्यक कागजात संलग्न गरी उम्मेदवारले जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा तथा राजनीतिक दलले आयोगमा जानकारी गराउनुपर्नेछ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तोकिएको समयभित्र खर्च विवरण नबुझाए वा सार्वजनिक नगरे निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार सम्बन्धित दल र उम्मेदवारमाथि कारबाही हुन सक्छ।