कैलाली ।
सुदूरपश्चिमको महत्त्वपूर्ण सडक परियोजना धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउले खण्डमा दुई वटा पक्की पुल निर्माण सम्पन्न भएका छन्।
सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटा का अनुसार जोनापुर र रसुकुटी खोलामा निर्माण गरिएका यी पुलहरू कुल रु ३ करोड १५ लाख लागतमा सम्पन्न भएका हुन्।
पुल निर्माणसँगै उक्त क्षेत्रमा सडक कालोपत्रे गर्ने तथा खोलाको किनारमा तटबन्ध निर्माण गर्ने कामसमेत गरिएको छ। निर्माण सम्पन्न भएपछि दुवै पुल गत साता सम्बन्धित आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको जनाइएको छ।
स्थानीय यातायातलाई सहज बनाउने र सुदूरपश्चिमका विभिन्न क्षेत्रलाई जोड्ने लक्ष्यसहित अघि बढाइएको यो परियोजनाले अब यात्रालाई अझ सुरक्षित र द्रुत बनाउने अपेक्षा गरिएको छ।