उतारचढावपछि सेयर बजार उकालो, नेप्से ५ अंकले बढ्यो
उतारचढावपछि सेयर बजार उकालो, नेप्से ५ अंकले बढ्यो
    • बेल संचार

    • ९ चैत्र २०८२, सोमबार

काठमाडौं:

साताको पहिलो कारोबार दिन सोमबार NEPSE Index अन्तिम समयमा सुधारिएर बढतसहित बन्द भएको छ। दिनभर उतारचढावमा रहेको बजार अन्त्यतिर उकालो लाग्दै ५.०१ अंकले बढेर २९३६ अंकमा पुगेको हो।

दिउँसो २:३४ बजे करिब २९११ अंकसम्म झरेको बजार त्यसपछि पुनः सुधार हुँदै हरियो सूचकमा बन्द भएको देखिएको छ।

यद्यपि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा १०२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनी घटेका छन् भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत सूचकतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १.५३ प्रतिशतले उकालो लागेको छ। यससँगै हाइड्रोपावर, लगानी, माइक्रोफाइनान्स र फाइनान्स समूहमा पनि सामान्य वृद्धि देखिएको छ। तर बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, बीमा र व्यापार समूहमा गिरावट आएको छ।

आज रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इनसहित ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

उता सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी ३.२३ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा कुमारी बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप अग्रस्थानमा रहेका छन्।

विश्लेषकहरूका अनुसार बजारमा देखिएको उतारचढावबीच अन्तिम समयमा आएको सुधारले लगानीकर्ताको मनोबल केही मजबुत भएको संकेत गरेको छ।

साताकाे चर्चित
सम्बन्धित