काठमाडौं ।
साताको अन्तिम कारोबार दिन शुक्रबार NEPSE Index १३.४६ अंकले घटेर २८३७ अंकमा कायम भएको छ। सार्वजनिक बिदाको कारण आइतबार बजार बन्द हुने भएपछि शुक्रबार कारोबार गरिएको हो।
आज कुल ८ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अघिल्लो कारोबार दिन ९ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो।
बजार समग्रमा ओरालो लागे पनि उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशतले बढ्दै ११ हजार ६४२ अंकमा पुगेको छ, जुन हालसम्मकै उच्च स्तर हो। यो समूहमा नयाँ कम्पनी थपिनु र निरन्तर मूल्य वृद्धि हुनु रेकर्डको मुख्य कारण मानिएको छ।
उत्पादनबाहेक जलविद्युत् समूह ०.०८ प्रतिशतले बढेको छ। तर बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहमा गिरावट देखिएको छ।
आज ५६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ भने ३ कम्पनी स्थिर रहेका छन्।
सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, शिखर पावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको मूल्य १० प्रतिशतले बढेको छ।
यस्तै रिलायन्स स्पिनिङ मिल्सको सेयर ९.३६ प्रतिशत र हिमालयन हाइड्रोपावरको ८.४८ प्रतिशतले उकालो लागेको छ।
आज सबैभन्दा बढी गिरावट माइखोला हाइड्रोपावरमा देखिएको छ। कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी अगाडि रहे।