मस्कोमा भीषण ड्रोन आक्रमण, भारतीय नागरिकसहित तीन जनाको मृत्यु
मस्कोमा भीषण ड्रोन आक्रमण, भारतीय नागरिकसहित तीन जनाको मृत्यु
    • बेल संचार

    • ४ जेष्ठ २०८३, सोमबार

रुसको राजधानी मस्को र आसपासका क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ। रूसका लागि भारतीय दूतावासले आइतबार जारी गरेको जानकारीअनुसार मृतकमध्ये एक जना रूसमा कार्यरत भारतीय कामदार रहेका छन्।

आक्रमणमा अन्य तीन जना घाइते भएको दूतावासले जनाएको छ। घटनापछि दूतावासका अधिकारीहरूले प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै अस्पताल पुगेर घाइते कामदारहरूको अवस्था बुझेका छन्।

युक्रेनले शनिबार राति मस्कोसहित विभिन्न क्षेत्रमा करिब ६०० ड्रोन प्रयोग गरी आक्रमण गरेको बताइएको छ। आक्रमणमा मस्को क्षेत्रमा तीन र बेलगोरोड क्षेत्रमा एक जनाको ज्यान गएको रुसी अधिकारीहरूले जनाएका छन्।

युक्रेन युद्ध सुरु भएयता मस्कोमा भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण मानिएको छ।

यसअघि युक्रेनको राजधानी किएभमा रुसी मिसाइल र ड्रोन आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएपछि युक्रेनले त्यसको प्रतिकार गर्ने चेतावनी दिएको थियो।

सन् २०२२ देखि जारी रुस–युक्रेन युद्धले लाखौँ मानिसको ज्यान लिइसकेको छ भने यसलाई दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा घातक द्वन्द्वका रूपमा हेरिएको छ।

साताकाे चर्चित
सम्बन्धित