सुनकोशीमा पानी बढेपछि बेलिब्रिज हटाइयो, खोटाङको तराईसँगको सीधा यातायात विच्छेद
सुनकोशीमा पानी बढेपछि बेलिब्रिज हटाइयो, खोटाङको तराईसँगको सीधा यातायात विच्छेद
    • बेल संचार

    • ४ जेष्ठ २०८३, सोमबार

खोटाङ:
निरन्तर वर्षासँगै सुनकोशी नदीमा पानीको बहाव बढेपछि फोक्सिङटार र बङ्शिलाघाटमा जडान गरिएका अस्थायी बेलिब्रिज हटाइएको छ। बेलिब्रिज निकालिएपछि खोटाङको पूर्वी तराईसँगको सीधा सडक सम्पर्क पुनः अवरुद्ध बनेको छ।

वर्षायाम सुरु भएसँगै जोखिम बढेपछि अस्थायी पुल हटाइएको हो। हिउँदमा सञ्चालनमा ल्याइने यी बेलिब्रिज वर्षा लागेपछि निकाल्ने अभ्यासअनुसार यसपटक पनि पुल हटाइएको सम्बन्धित कार्यालयहरूले जनाएका छन्।

बङ्शिलाघाटस्थित पुल हटाएपछि खोटाङका बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ क्षेत्रका नागरिकलाई पूर्वी तराई आउजाउ गर्न पुनः झोलुङ्गे पुलको भर पर्नुपर्ने अवस्था आएको छ। स्थानीयवासीले अब करिब छ महिनासम्म कठिन यात्रा गर्नुपर्ने बताएका छन्।

त्यस्तै, फोक्सिङटारको अस्थायी बेलिब्रिज पनि जेठ ३ गतेदेखि पूर्ण रूपमा बन्द गरेर निकाल्न सुरु गरिएको हो। यसअघि सञ्चालनमा रहेको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि त्यहाँ अस्थायी बेलिब्रिज जडान गरिएको थियो।

स्थानीय व्यवसायी र नागरिकहरूले पक्की पुल निर्माणमा ढिलाइ हुँदा हरेक वर्ष यातायात समस्या दोहोरिने गरेको गुनासो गरेका छन्।

उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष Rajan Prasad Acharya ले अब घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने भएकाले ढुवानी खर्च बढ्ने र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत महँगिने चेतावनी दिएका छन्।

फोक्सिङटारमा नयाँ मोटरेबल पुल निर्माणका लागि बजेट सुनिश्चित भएको बताइए पनि निर्माण प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन।

साताकाे चर्चित
सम्बन्धित