मुगुमा करिब ४१० मिटर लामो ऐतिहासिक पुल बन्ने पक्का, मह–माङ्ग्रि जोडिने विकासले यातायातदेखि पर्यटनसम्म नयाँ सम्भावना
मुगुमा करिब ४१० मिटर लामो ऐतिहासिक पुल बन्ने पक्का, मह–माङ्ग्रि जोडिने विकासले यातायातदेखि पर्यटनसम्म नयाँ सम्भावना
    • तपेन्द्र ऐडी

    • ४ जेष्ठ २०८३, सोमबार

मुगु ।

मुगु जिल्लाको निर्वाचन क्षेत्र ‘क’ अन्तर्गत मुगम कार्मारोङ गाउँपालिका मह र माङ्ग्रि क्षेत्र जोड्ने ऐतिहासिक पुल निर्माण हुने भएको छ । करिब ४१० मिटर लामो उक्त पुल कर्णाली प्रदेशकै सबैभन्दा लामोमध्ये एक र देशभरमै विशेष संरचनाका रूपमा रहने अनुमान गरिएको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालय मुगुले उक्त पुलका लागि टेन्डर आह्वान गरिसकेको छ । ‘टर्न–की’ मोडेल (डिजाइन र निर्माण एउटै प्याकेजमा) निर्माण हुने यो परियोजनालाई जिल्लाको पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

निर्माणपछि मह र माङ्ग्रि क्षेत्रका बस्तीहरूबीच आवत–जावत सहज हुने, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच बढ्ने र दैनिक उपभोग्य वस्तुको ढुवानी सरल बन्ने अपेक्षा गरिएको छ । साथै स्थानीय कृषि उत्पादन जस्तै चिनो, काउनी, फापर, कोदो, मकै, आलु, सिमी, गहत र भट्ट जस्ता रैथाने बालीहरूको बजारिकरणमा समेत सहजता आउने विश्वास गरिएको छ ।

हाल कठिन भौगोलिक अवस्थाका कारण यातायात सेवा सीमित रहेको क्षेत्रमा यो पुल बनेपछि सदरमुकामदेखि गाउँपालिका र चीन सीमासम्मको आवत–जावत सहज हुने अनुमान छ ।

त्यसैगरी रारा–गमगढी–छायानाथ पर्यटकीय मार्गमा समेत यो संरचनाले पर्यटन प्रवर्द्धनमा नयाँ अवसर सिर्जना गर्ने स्थानीयले बताएका छन् । पुल बनेपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्ने र स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

यो परियोजनालाई कर्णाली प्रदेशका पूर्वमन्त्री तथा माननीय जितबहादुर मल्लको पहलमा अघि बढाइएको जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित